Logo

नेकपामा शक्तिशाली वामदेव



Spread the love

१ भदौ, काठमाडौँ । नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्।

उनले सङ्गठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ। अब नेकपाको सचिवालयले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेर निर्णय लिनेछ। यो निर्णयसँगै नेताहरूको मर्यादाक्रममा पाँचौँ नम्बरमै रहे पनि गौतम पार्टीभित्र बलिया बन्नेछन्।

दुई कम्युनिस्ट पार्टी एकतामा समेत निर्णायक भूमिका खेले पनि उपयुक्त जिम्मेवारी नदिएको, निर्वाचनमा ओली पक्षका नेताहरूकै कारण पराजित हुन परेको र उपचुनावमार्फत फेरि संसद् छिर्न आफूले गरेको तयारीमा समेत ओली नै ‘अवरोधक’ बन्न पुगेको ठानेपछि गौतम ओलीसँग टाढिन पुगेका थिए।

गत स्थायी समिति बैठक (मङ्सिर २९ देखि पुस १३) मा दुई अध्यक्षको लिखित प्रस्तावमाथि गौतमले फरक मत राखेका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको खरो आलोचकका रूपमा देखिएका गौतमले त्यस बेला ‘एक व्यक्ति एक कार्यकारी पद’ को बहस ल्याएर एउटा अध्यक्षलाई प्रधानमन्त्री र अर्का अध्यक्षलाई पार्टी सञ्चालनको प्रस्ताव गरेका थिए। त्यसपछि भने नेकपाभित्रै धेरै नेतालाई लागेको थियो, गौतमको ओलीसँग सम्वन्धविच्छेद हुने भयो। तर ८ महिनामै नेकपाभित्रको समीकरण यसरी बदलियो कि फेरि वामदेव ओलीका लागि सबैभन्दा भरपर्दा व्यक्ति बनेर निस्किए। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्