३१ साउन, बाजुरा – लगातार अविरल वर्षा कारण गाउँमाथिबाट आएको बाढीसँगै पहिराका कारण जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाका दर्जनौँ बस्तीमा क्षति भएको छ । स्वामिकार्तिक खापर गाउँपालिका–२ अन्तर्गतका छुद्दरी, जोरु, खुइकोट, मानाकोटी, रुढी, बर्कुलगायतका बस्तीलाई पहिराले बगाउँदा लाखौँको क्षति भएको वडा नं १ का वडाध्यक्ष जनक रोकायाले जानकारी दिए ।
पहिराका कारण बस्तीका विस्थापित १६ घरलाई अन्यत्रै सर्न आग्रह गरिएको छ भने बाँकी बस्तीलाई पनि स्थानान्तरण गर्नुपर्ने वडाध्यक्ष रोकायाले बताए । बुधबार राति करीब १ बजेपछि पहिरा आएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।
“रातिको समय थियो, पूरै गाउँ नै सुनसान थियो, आकाशमा कालो बादलसँगै झिमझिम पानी परिरहेको थियो, पहिरा आउँछ भनेर कसैलाई पत्तो थिएन, रातिको एक्कासि पानीले यति ठूलो क्षति पुर्यायो”, स्थानीयवासी दानबहादुर रावलले गुनासो पोखे । भिरालो जमीनमा रातिको समयमा बाढी पहिरा आउँदा छानोमा रहेका स्थानीयवासीका दुई भैँसी र ४८ गाईगोरु बगाएको तर मान्छे छिटो भाग्दा मानवीय क्षति भने कुनै हुन नपाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
अहिले उक्त ठाउँमा गाउँभन्दा माथिबाट पहिरा बगिरहेको शिक्षक रोकायाको भनाइ छ । भिरालो जमीनमा स्थानीयवासीको बसोवास रहेको हुँदा सो स्थानमा पुनःपहिरो जानसक्ने सम्भावना रहेकोे जिल्ला दैविक प्रकोप उद्धार समितिले सचेत रहन आग्रह गरेको छ । पहिराले लिगुडे खोलाको निर्माणाधीन पुलसमेत बगाएर लाखौँको क्षति भएको शिक्षक मनबहादुर रोकायाले जानकारी दिए ।
त्यस क्षेत्रका एक हजारभन्दा बढी स्थानीयवासीलाई आवतजावतमा समस्या भएको बताइएको छ । करीब चार हजार जनसङ्ख्यालाई अहिले पहिराको चिन्ताले सताइरहेको छ । गाउँमा निर्माण भएका सिँचाइ कुलो, सिँचाइ ट्याङ्कीसमेत पहिराले भत्काउँदा करीब चार हजारभन्दा बढी खेती किसानले लगाएको अन्नबाली, तरकारी खेती, फलफूल खेती बगाउँदा करोडाैँको क्षति पुगेको छ ।