Logo

वातावरण नै छैन काम गर्ने : मन्त्री अर्याल



Spread the love

२९ साउन, काठमाडौँ l सरकार बेथिति अन्त्य गर्दै सुशासन कायम गर्ने अभियानमा लागेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बताएकी छन् ।

चालु आर्थिक वर्षका लागि सचिव गोपीनाथ मैनालीसँग कार्य सम्पादन सम्झौताका क्रममा आज मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

उनले भनिन, ‘सुशासन कायम हुने र बेथिति अन्त्य हुने गरी कार्यक्रम मापन गरेका छौँ । ढिलासुस्तीको अन्त्य गरिनुपर्छ, निर्णय गरेर छाड्नका लागि होइन, कार्यान्वयनका लागि हो कार्य सम्पादन सम्झौता निर्णय गरेपछि जतिसुकै जोखिम मोलेर भए पनि कार्यान्वयन गर्नुपर्छ ।’

जग्गाबारे भोगाधिकार प्रक्रियालाई लिज प्रणालीमा लैजाने निर्णय गरेको मन्त्री अर्यालले बताइन् । मन्त्री अर्यालले भनिन, ‘यसलाई कार्यान्वयन गर्नुपर्छ । यो आर्थिक वर्षभित्रै लिज प्रणालीलाई स्थापित गर्नुपर्छ, निर्णय गरेको कुरा कार्यान्वयन गरेरै छाड्नुपर्छ ।’

मन्त्री अर्यालले मन्त्रालयमा काम गर्ने वातावरण नै नभएको गुनासो पनि गरिन् । मन्त्री अर्यालले भनिन्, ‘मन्त्रालयमा केही काम गरौँ न भनेर उत्साहित हुने वातावरण छैन भन्न मलाई कुनै सङ्कोच छैन, वातावरण नै छैन काम गर्ने ।’

उनले सरकारी जग्गा व्यक्तिबाट लिन खोज्दा कर्मचारीले मानहानीको मुद्दा खेप्नुपरेको गुनासो गरिन् । उनले भनिन, ‘केही व्यक्तिले सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गरेको वा गर्न खोजेको रोक्दा हाम्रा कर्मचारीले मानहानीको मुद्दा खेप्नुपरेको छ, अहिले अनलाइन प्रणालीमा ७७ वटा मालपोत कार्यालयबाट जग्गा दर्ताको काम थालेका छौँ । जसले गर्दा सरकारी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता हुने छैन ।’

विगतमा दर्ता भइसकेको र अहिले अनलाइन प्रणालीमा नरहेका जग्गाको हकमा भने फर्काउन कठिन भएको मन्त्री अर्यालले बताएकी छन् ।

मन्त्री अर्यालले भनिन, ‘व्यक्तिका नाममा दर्ता भइसकेका जग्गा रोक्न सम्भव छैन, हदबन्दी भन्दा भन्दा बढी जग्गा फिर्ता गर्ने अभियानलाई कार्यान्वयन गर्छौँ ।’

मन्त्री अर्यालले नयाँ आउने कर्मचारीले जग्गा प्रशासन नबुझ्नाले समस्या भइरहेको बताइन् l उनले भनिन, ‘पुराना कर्मचारी बाहिरिने भएकाले पनि केही समस्या आइरहेको छ, नयाँ कर्मचारीलाई बुझाउनै समस्या भएको छ । त्यसले अफ्ठेरो परेको हो ।’

मन्त्रालयबाट विदेश पलायन हुने कर्मचारीले उपलब्धि देखाउनुपर्ने सर्त मन्त्री अर्यालले राखिन् । अर्यालले भनिन, ‘आफूखुसी जाने होइन विदेश, उपलब्धिका लागि विदेश जाने हो, अब विदेश जाने कर्मचारीले उपलब्धि नदेखाई हुन्न ।’

कार्यसम्पादन सम्झौताका क्रममा मन्त्रालयका गोपीनाथ मैनालीले यसले आफूहरूलाई काम गर्न सहज हुने बताए । उनले भने, ‘कार्यसम्पादन करार सम्झौताले काम गर्न सहजीकरण गर्नेछ । लक्षहरू कसरी प्राप्त गर्ने सहज हुनेछ, यसले नियन्त्रण मात्रै गर्दैन, तोकिएका योजना समयमै सक्न सघाउँछ ।’

सचिवले मन्त्रीलाई र मन्त्रीले प्रधानमन्त्रीलाई मासिक रूपमा प्रतिवेदन बुझाउनुपर्ने भएकाले काम राम्रो हुने अपेक्षा मैनालीले गरेका छन् । उनले भने, ‘यो कामले मन्त्रालयको टिमलाई प्रेरणा दिनेछ, कार्यसम्पादन सम्झौता अधिक कृत तहसम्म जानेछ ।’

प्रतिक्रिया दिनुहोस्