Logo

आजका लागि बोलाइएको सचिवालय बैठक पुन: स्थगित



Spread the love

२९ साउन, काठमाडौँ l सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ । उक्त बैठक स्कुल विभागसहित जनवर्गीय सङ्गठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि स्थगित भएको हो l

पार्टीभित्र आन्तरिक वार्ता गर्नुपर्ने देखिएपछि बैठक भोलिका लागि स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर आज पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरूबिच गरेको छलफलमा जनवर्गीय सङ्गठनको नेतृत्वलाई लिएर व्यापक विवाद भएको र त्यो टुङ्गिन नसकेका कारण बैठक सार्नु परेको सचिवालयका एक सदस्यले बताए ।

स्कुल विभागको नेतृत्व पूर्व माओवादीका नारायणकाजी श्रेष्ठ या पूर्व एमालेका ईश्वर पोखरेल मध्ये कसलाई दिने भन्ने विवाद कायमै रहेका बेला जनवर्गीय सङ्गठनको नेतृत्व छान्न पूर्व एमालेलाई ध्याउ ध्याउ परेको ती सदस्यको दाबी छ ।

यस्तै आज बिहान अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरेको छलफल पनि विना निष्कर्ष सकिएपछि थप गृहकार्य गर्ने भन्दै भोलिसम्मका लागि बैठक सारेको सूचना जारी गरिएको हो ।

आजको सचिवालय बैठक ३ बजेका लागि बोलाएको थियो । सिङ्गापुरबाट पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली उपचार गरेर फर्किएकै भोलिपल्ट अर्थात् साउन २८ गतेका लागि तोकिएको बैठक पहिले आन्तरिक छलफल गर्ने र आज बैठक बोलाउने जानकारी उनले सचिवालय सदस्यहरूलाई दिएका थिए ।

साउन १३ यता नेकपाको सचिवालय बैठक बस्न सकेको छैन । दुई अध्यक्षले साउनभित्रै एकता टुङ्ग्याउने सार्वजनिक रूपमा दाबी गरेका थिए । तर उनीहरू दुवैको विदेश भ्रमणले गर्दा लामो समय स्थगित बैठक पुन: बस्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्