Logo

सिंगापुरबाट फर्किनासाथ ओली सक्रिय



Spread the love

२९ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट तीव्र पारेका छन्। उपचारका लागि १० दिन सिङ्गापुर बसेर सोमबार फर्कने बित्तिकै नेकपा अध्यक्षसमेत रहेका ओली सचिवालय बैठकको तयारीमा जुटेका हुन्। यस क्रममा उनले सचिवालय सदस्यहरूसँग सामूहिक र छुट्टाछुट्टै छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीले सोमबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग बालुवाटारमा भेटघाट गरेका थिए। उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए। ‘प्रधानमन्त्री आफ्नो दैनिक काममा सक्रिय भइसक्नु भएको छ। उहाँले स्वदेश फर्के लगत्तै राजनीतिक भेटघाट थालिसक्नु भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्री फर्के लगत्तै उपप्रधानमन्त्री, पार्टी अध्यक्ष, महासचिवलगायत नेताहरूसँग भेटघाट गर्नुभएको छ। मङ्गलवार पनि बिहानैदेखि पार्टी नेताहरूसँग सचिवालय बैठकको गृहकार्यका लागि भेटघाट गर्नुभएको छ।’ सचिवालय बैठक बुधवार बस्दैछ।

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाल र महासचिव पौडेलसँग सोमबार नै छलफल गरी पूर्वनिर्धारित सचिवालय बैठक एक दिनपछि सारेर आन्तरिक गृहकार्यमा छलफल थालेका थिए।

‘पार्टी नेताहरूसँग उहाँले सचिवालय बैठकको तयारीका लागि छलफल गर्नुभएको छ,’ अर्यालले भने, ‘अधिकांश सचिवालयका सदस्यसँग प्रधानमन्त्रीले भेटेर छलफल गरिसक्नु भएको छ।’ ओलीले मङ्गलवार बिहान पूर्व एमालेका सचिवालय सदस्यहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, विष्णु पौडेल र ईश्वर पोखरेलसँग सामूहिक भेट गरे। दिउँसो अध्यक्ष दाहाल, रामबहादुर थापासँग महासचिव पौडेलसहित राखेर छलफल गरे। साँझ फेरि उनले संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायत पूर्वएमालेका नेताहरूसँग छलफल गरे।

सरकारका मन्त्रीसमेत रहेका नेताहरूसँग सरकारको कामका विषयमा पनि उनले बिफ्रिङ लिएका छन्। यस्तै अन्य नेताहरुसँग भने पार्टीको कार्य विभाजन प्रस्तावका विषयमा छलफल गरेका छन्।

पार्टीका ३२ केन्द्रीय विभाग, एउटा नीति अध्ययन प्रतिष्ठान, उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, प्रवास कमिटी र २२ वटा जनवर्गीय सङ्गठनका फ्याक्सन इन्चार्जको जिम्मेवारीलगायतमा पार्टी नेताहरूको कार्य विभाजन बाँकी छ। ‘५ साउनमा जिल्ला इन्चार्ज÷सहइन्चार्जको टुङ्गो लगाएपछि विभागको जिम्मेवारी चयनको कार्यसूचीमा नेकपा सचिवालय बैठक प्रवेश गरेको हो। तर पार्टीको स्कुल विभागको नेतृत्वका लागि पार्टी सचिवालयका सदस्यहरू नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल दुवैले दाबी नछोडेपछि नेतृत्वले विभागीय जिम्मेवारी टुङ्ग्याउन सकेको छैन। १३ साउनको बैठकले महासचिव पौडेललाई कार्य विभाजन बाँकी रहेका नेताहरूसँग प्राथमिक सूचीका आधारमा रुचि बुझेर व्यवस्थित गर्न जिम्मेवारी दिएको थियो। त्यसपछि दुवै अध्यक्ष विदेश गएका थिए। दाहाल दुबई र ओली सिङ्गापुरबाट फर्केपछि महासचिव पौडेलले नेताहरूसँग छलफलका आधारमा तयार पारेको प्रस्ताव दुवै नेतालाई बुझाएका छन्।

प्रधानमन्त्री नहुँदा अध्यक्ष दाहालले पनि पार्टीका नेतासँग भेटघाट तीव्र बनाएका थिए। ओली नहुँदा दाहालले वरिष्ठ नेता माधव नेपालसँग दुई पटक, वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र महासचिव पौडेलसँग संवाद गरेका थिए।

नेकपाको नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले सचिवालय सदस्य श्रेष्ठसँग छलफल गरेका छैनन् भने अध्यक्ष दाहालले नेता पोखरेलसँग छलफल गरेका छैनन्। दुवै नेताले स्कुल विभागको दाबी गरिरहेका छन्। अन्नपूर्णपोष्ट बाट ।

प्रतिक्रिया दिनुहोस्