Logo

मङ्गलवार बस्ने भनिएकाे नेकपाकाे सचिवालय बैठक सर्‍यो



Spread the love

२८ साउन, काठमाडौँ । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको कार्य विभाजनलगायत एकीकरणका बाँकी काम टुङ्गो लगाउनका लागि शीर्ष नेताहरूसँग परामर्श गर्न समय चाहिएकाले मङ्गलवार बस्ने भनिएको बैठक बुधवार सरेको छ ।

स्थायी कमिटी सदस्यहरूलाई विभाग प्रमुख तथा कतिपय ठुला जनसङ्गठनको इञ्चार्ज बनाउने तयारी भइरहेको छ । जुनियर केन्द्रीय सदस्यहरूलाई विभागको उपप्रमुख तथा जनसङ्गठनको सह-इञ्चार्जको जिम्मेवारी दिइने नेकपा स्रोतले जनाएको छ ।

महासचिव विष्णु पौडेलले स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरूसँग तीन विकल्पसहित आफूले जिम्मेवारी लिन चाहेको विभाग, भूगोल वा जनसङ्गठनको रुचिबारे लिखित तथा मौखिक सुझाव सङ्कलन गरेका छन् । बुधवार बस्ने बैठकमा महासचिव पौडेलले कार्य विभाजनको प्रस्ताव पेस गर्ने बताइएको छ ।

स्रोतले दिएकाे जानकारी अनुसार किसान महासङ्घ, युवा सङ्घ, अनेरास्ववियू, महिला सङ्घ, मजदूर सङ्गठन जस्ता ठुला जनसङ्गठनको इञ्चार्ज स्थायी कमिटी सदस्यबाट बनाउन अधिकांश नेताले महासचिव पौडेललाई सुझाव दिएकाे स्रोतले जानकारी दिएकाे छ । पौडेलले सो सुझाव अध्यक्षद्वय ओली र प्रचण्डलाई पनि जानकारी गराएका छन् ।

स्कुल विभाग प्रमुखमा ८ जना नेताहरूले दाबी गरेका छन् । महासचिव पौडेलले सङ्कलन गरेको मौखिक तथा लिखित सुझावका क्रममा युवराज ज्ञवाली, घनश्याम भुसाल, बेदुराम भुसाल, देवेन्द्र पौडेल र राम कार्कीले स्कुल विभाग प्रमुखमा रुचि देखाएका हुन् ।

पार्टीका शीर्ष नेता अध्यक्ष प्रचण्डसहित माधव नेपाल, महासचिव विष्णु पौडेल र बामदेव गौतमलगायतका नेताहरूसँग पार्टीमा विभाग प्रमुखहरूको टुङ्गो लगाउनुअघि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले परामर्श थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्