Logo

काँग्रेसको स्थानीय तह अन्तरिम व्यवस्था निर्देशिका पारित



Spread the love

२७ साउन, काठमाडाैँ – नेपाली काँग्रेसले स्थानीय तहको सङ्गठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकाले विधानबमोजिम ‘स्थानीय तह सङ्गठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ पारित गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको बैठकले पार्टीको विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी सो निर्देशिका सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको हो । सो निर्णयलाई पार्टीको आगामी महासमिति÷महाधिवेशनमा पेश गरी अनुमोदन गराइने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले पार्टीका तर्फबाट खोटाङ्गको दिक्तेल रुपाकोटा मझुवागढी नगरपालिका–१ को खुला वडा सदस्य पदमा निर्वाचित बैजनाथ रिजाल अन्यमा प्रवेश गरी काँग्रेस पार्टी परित्याग गरेकोले प्रचलित कानूनबमोजिम निजको वडा सदस्य पद स्वतः रिक्त हुने जानकारी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ ।

यसैगरी बैठकले इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व ‘इद उल जोहा’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिको शुभकामना प्रकट गरेको छ ।

त्यस्तै केही दिनदेखि अस्वस्थ भई उपचारार्थ अस्पताल भर्ना भएका काँग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

बैठकले सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको रात्रिबस धादिङको बेनीघाट नजीक त्रिशूली नदीमा खस्दा धेरैको मृत्यु र त्यसमा सवार कतिपय यात्रु बेपत्ता भएका, गुल्मी र बझाङमा भएको सवारी दुर्घटनामा परी अकालमै ज्यान गुमाउनुु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गहिरो दुःख प्रकट गरेको छ ।

साथै, बैठकले शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा हिजो केन्द्रीय सदस्यहरु महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, उमाकान्त चौधरी, दीपक गिरी, महेन्द्र यादव, बद्री पाण्डे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, हृदयराम थानी र शिवप्रसाद हुमागाईंले आ–आफ्नो विचार व्यक्त गरेका थिए । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही साउन २९ गते अपराह्न १ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्