Logo

भान्सा झन् झन् महंगीदै , १ वर्षमा तरकारीको मूल्य १०९ प्रतिशत सम्म बढ्यो



Spread the love

२५ साउन, काठमाडौं । चाडपर्व नजिकिएसँगै उपभोक्ताको भान्सा झन् झन् महँगो बन्दै गएको छ । तरकारी, फलफुल, खाद्यान्नलगायत अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको तथ्याङ्कले नै एक वर्षमा तरकारीको मूल्य १ सय ९ प्रतिशतसम्म बढेको देखाउँछ ।

चामल, चिउरा, दाल, चिनी, तिल, गहुँ, कोदो, मकै, आँटाको मूल्य दुई महिनामा करिब २२ प्रतिशतसम्मले बढेको छ । ‘मूल्य बढ्नुपर्ने कारण छैन तर बजारभाउ दैनिक आकासिँदै गएको छ,’ खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले भने, ‘ठुला व्यापारीले मूल्य बढाएका छन् । किन बढाए, त्यसबारे खुद्रा व्यापारीलाई केही जानकारी हुँदैन ।’ उनका अनुसार ठुला व्यापारीले खरिद बिल पनि मूल्य घटाएर दिने गरेका छन् । ‘अहिले चामल बोरामै (२० देखि २५ केजी) ५० रुपैयाँ बढेको छ । चिनी करिब ९० रुपैयाँ किलोसम्ममा बिक्री गर्नुपर्ने अवस्था छ,’ श्रेष्ठले भने ।

मासुजन्य वस्तुको मूल्य पनि बढेको छ । बजार अनुगमन तथा मूल्य नियन्त्रण गर्ने दायित्व रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले पनि मूल्य बढेको स्विकारे । ‘विभिन्न कर र बाढीका कारण मूल्यवृद्धि भएको छ । मासुजन्य वस्तु, तरकारी तथा फलफुल आपूर्तिमा अत्यधिक कमी आएको छ,’ उनले भने, ‘यस्तो मौका छोपी केही बिचौलिया र व्यवसायीले कृत्रिम अभाव गराई मूल्य बढाउने, कार्टेलिङ तथा सिन्डिकेटजस्ता गैरव्यावसायिक क्रियाकलाप गरिरहेका छन् ।’

विभागले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार एक वर्षमा गोलभेँडाको मूल्यमा १ सय ९ प्रतिशत बढेर प्रतिकिलो १ सय १५, भन्टा ७२ प्रतिशत बढेर ९५ रुपैयाँ, काउली ४७ प्रतिशत बढेर १ सय २५, भटमास कोसा ७० प्रतिशतले बढेर १ सय ४५, फर्सी ४४ प्रतिशतले बढेर ६५ रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ । फलफुलमा पनि ९१ प्रतिशतसम्म मूल्यवृद्धि भएको उल्लेख छ । एक महिनाकै अवधिमा खाद्यान्नको भाउ अस्वाभाविक बढेको छ । जिरा मसिनो चामल ६.६७ प्रतिशतसम्म बढेर प्रतिकिलो ८० रुपैयाँ, बासमती चामल ८ प्रतिशतले बढेर १ सय ४०, सानो केराउ ८.३३ प्रतिशतले बढेर १ सय ३० रुपैयाँसम्म पुगेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्