Logo

डिसेम्बरसम्म भैरहवाको गौतमवुद्ध विमानस्थल जसरी पनि सम्पन्न गर्छौँ : पर्यटनमन्त्री भट्टराई



Spread the love

२३ साउन, काठमाडौँ l आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई भैरहवाको गौतमवुद्ध विमानस्थल निरीक्षण गरेका छन् ।

मन्त्री भट्टराईले सो विमानस्थल आउँदो डिसेम्बर ३० सम्म जसोतसो सम्पन्न गर्नुपर्ने बताए l मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० मनाउने भएकोले भ्रमण वर्ष सफल कि असफल हुन्छ भन्ने विषयसँग विमानस्थल र लुम्बिनी जोडिएको बताउँदै प्रधानमन्त्री केपी ओलीको पनि चासोको विषय गौतमबुद्ध विमानस्थल रहेको बताएका छन् ।

उनले भने, ‘जुनसुकै अन्तर्राष्ट्रिय मञ्चमा पनि प्रधानमन्त्रीज्युले भन्नुभएको छ, डिसेम्बरमा हामी आयोजनाको काम सम्पन्न गर्छौँ र तपाइहरूलाई लुम्बिनीमा स्वागत गर्न आतुर छौँ, मन्त्रीको जिम्मेवारी दिएपछि बधाई दिने क्रममा पहिलो जिम्मेवारीकै रूपमा गौतमबुद्ध विमानस्थलको आयोजनाबारे मलाई भन्नुभएको छ, प्रधानमन्त्रीज्यूले लिने परीक्षा पनि यही हो l’

मन्त्री भट्टराईले आयोजनाका काम निरीक्षण गर्ने क्रममा सिङ्गो मुलुकले यस विमानस्थलबाट फाइदा लिने बताउँदै अझ प्रदेश सरकार, स्थानीय सरकार र नागरिकले नजिकबाट फाइदा लिने बताएका छन् ।

प्रदेश ५ सरकारका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री लीला गिरी, प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले आयोजना समयमै सम्पन्न गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा राखे ।

नदीजन्य पदार्थ समयमा उपलब्ध नहुँदा पनि आयोजनालाई समस्या आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्