Logo

काली गण्डकी डाइभर्सनको रहर नगर्न पौडेललाई मुख्यमन्त्री गुरुङको आग्रह



Spread the love

२३ साउन, काठमाडौँ l गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काली गण्डकी डाइभर्सन बनाउन सबैलाई मनाउने स्वघोषणा गरेका नेकपा महासचिव विष्णु पौडेललाई कडा जवाफ दिएका छन् ।

नेकपा प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले भनेका छन्, ‘उहाँले अर्को विष्णु वा ब्रहृमा, महेश्वर ल्याए पनि सम्भव छैन ।’ सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै नेकपा महासचिव पौडेलले गण्डकी प्रदेशका मुख्यमन्त्रीका साथै पाल्पा, स्याङ्जा, तनहुँवासीलाई फकाउने जिम्मा आफ्नो भएको बताएका थिए ।

महासचिव पौडेलले भनेका थिए, ‘४ नम्बर प्रदेशका मुख्यमन्त्री र तल्लो तटीय क्षेत्रका बासिन्दाले डाइभर्सन हुन दिन्नौंं भनेको सुनेको छु । तर उहाँहरूलाई कसरी कन्भिन्स गर्ने भन्ने जिम्मा मेरो भयो ।’

तर गण्डकीका मुख्यमन्त्री गुरुङले भने काली गण्डकी डाइभर्सनको रहर नगर्न पौडेललाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘अर्को विष्णु, ब्रह्मा, महेश्वर ल्याएपनि सम्भव छैन ।’

मुख्यमन्त्री गुरुङको प्रश्न छ- काली गण्डकी डाइभर्सन किन चाहियो ? ५०/६० मेगावाट बिजुली उत्पादन गर्ने यो परियोजना नबन्दा नेपाल अँध्यारो हुन्छ ?

महासचिव पौडेलले धेरै ठाउँमा काली गण्डकी डाइभर्सनबारे बोलेको सुनेको तर अहिलेसम्म स्वयंलाई केही नभनेको उनले सुनाए । उनले भने, ‘मैले धेरै ठाउँमा उत्तर पनि दिएको छु, यो पृथ्वीसुब्बाको निजी मामिला होइन ।’

मुख्यमन्त्री गुरुङले सङ्घीय शासन प्रणालीमा साझा नदी, खानी जस्ता प्राकृतिक स्रोतको प्रयोग कसरी गर्छन् भन्ने सबैले बुझ्नुपर्ने बताएका छन् ।

पौडेल अर्थमन्त्री हुँदा ल्याएको कार्यक्रम भन्दैमा लागू नहुने बताउँदै मुख्यमन्त्री गुरुङले अघि भने, ‘त्यस्तो हुने हो भने त ज्ञानेन्द्रको शासन मान्नुपर्‍यो किनकि उनी पनि कुनै दिन शासक थिए ।’

प्रतिक्रिया दिनुहोस्