Logo

गोलीकाण्डबारे अवलोकन गर्न डोनाल्ड ट्रम्प एल पासोमा, त्यहाँका समुदायले गरे विरोध



Spread the love

शनिवार बन्दुकधारीले अन्धाधुन्ध गोली वर्षाएको एल पासो र ओहायोको डेटन क्षेत्र अवलोकन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यस क्षेत्रतर्फ निस्किएका छन् ।

हिस्पानिक भनिने दक्षिण अमेरिकी मूलका मानिसहरूलाई लक्षित गरेर घटाइएको भनिएको घटनामा, पासोमा २२ र डेटनमा ९ जनाको ज्यान गएको थियो भने घटनामा कैयन घाइते छन् ।

ट्रम्प सुरुमा ९ जनाको ज्यान लिने गरी गोलीकाण्ड मच्चिएको डेटन पुगेका थिए । त्यहाँ उनले गोली लागेर घाइते भएकाहरूलाई भेटेर ढाडस दिएका थिए भनिएको छ ।

डेटनपछि ट्रम्प सोझै एल पासोतर्फ लागेको बताइएको छ । तर, त्यहाँका हिस्पानिक समुदायका मानिसले ट्रम्पले गर्न लागेको अवलोकनप्रति विरोध प्रदर्शन गरेका छन् ।

गोलीकाण्ड प्रभावित क्षेत्रको अवलोकन गर्न एल पासो जाने ट्रम्पको योजनाको विरोध भएको हो । हिस्पानिक विभेदमा पर्दै आएको अमेरिकी समुदाय हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंमामाथि समेत हिस्पानिकप्रति घृणाभाव फैलाएको आरोप लागेको छ । ट्रम्पको योजनाको विरोध गर्नु यसैको कारण मानिएको बिबिसिले जनाएको छ ।

ट्रम्पले गोलीकाण्ड भएका क्षेत्रको अवलोकन गर्नुअघि गोरा र अरू कुनै प्रकारको सर्वोच्चताको पक्षमा आफू नरहेको प्रस्ट पारे पनि,ट्रम्पको जातीवादी तथा घृणा र द्वेषजनित शब्दले आफ्नो समुदायमाथि पीडा पुगेको भन्दै, एल पासोको प्रतिनिधित्व गर्ने विपक्षी डेमोक्र्याटिक पार्टीकी कङ्ग्रेस सदस्य भेरोनिका एस्कोबारले ट्रम्पसँग भेट गर्न अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

दुवै गोलीकाण्डका घटनाबारे अनुसन्धान भने भइरहेको बताइएको छ । गोली चलाउने व्यक्तिले कुनै हिंसात्मक सिद्धान्तको अनुसरण गरिरहेको तथ्य भेटेको जिकिर गरेपनी अहिलेसम्म प्रहरीले घटनाबारे ठोस निष्कर्ष निकाल्न भने सकेको छैन ।

बुधवार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मानसिक रोगका कारण पछिल्ला गोलीकाण्ड भएको दाबी गर्दै बिरामी मान्छेहरूका हातमा बन्दुक देख्न नसक्ने बताएका थिए । तर यसमा स्वास्थ्यकर्मीहरू असहमत देखिएका छन् । ट्रम्पले दाबी गरेजस्तो मानसिक रोग जिम्मेवार नरहेको स्वास्थ्यकर्मीहरूको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्