Logo

काँग्रेस नै एक आपसमा नमिल्दा हार भएको हो : महामन्त्री कोइराला



Spread the love

२२ साउन, दमौली l हिन्दु धर्मका पक्षमा बोल्नु आफ्नो बाध्यता भएको नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताएका छन् ।

तनहुँमा आयोजित कार्यकर्ता भेटघाटमा उपस्थित जनाउँदै महामन्त्री कोइरालाले यस्तो बताएका हुन् । विगतमा हिन्दु राज्यका पक्षमा अभिव्यक्ति दिए पश्चात् पार्टीभित्रै आलोचित कोइरालाले त्यो आफ्नो बाध्यता भएको बताएका हुन् ।

उनले भने, ‘हिन्दु धर्मका पक्षमा बोल्नु मेरो बाध्यता थियो, काँग्रेस धार्मिक स्वतन्त्रताकै पक्षमा छ।’ तनहुँमा देखिएको समानान्तर समितिको विवादका विषयमा कार्यकर्ताले सोधेका प्रश्नको जवाफ दिँदै महामन्त्री कोइरालाले समस्या समाधान गर्ने बताए ।

उनले भने, ‘तपाईँहरूले केन्द्रबाट अपेक्षा गर्नुभएको होला, केन्द्रले यसको समाधान गर्ने प्रयास गर्नेछ ।’ महामन्त्री कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन हुनुपर्ने बताउँदै सबैका लागि मान्य नेतृत्व आवश्यक रहेको बताए ।

उनले भने, ‘अब काँग्रेसमा नेतृत्व परिवर्तन हुनुपर्छ, सबैलाई मान्य हुने अनि गुट र उपगुट हटाउने नेतृत्व काँग्रेसलाई चाहिएको छ ।’ गुट र उपगुट समाप्त पार्ने नेतृत्व पाए काँग्रेसलाई कसैले हराउन नसक्ने कोइरालाले बताए l

उनले भने, ‘गुट र उप गुट हटाउन सकिए काँग्रेसलाई जो सुकै मिले पनि कसैले हराउन सक्दैन l ‘ अहिले काँग्रेसलाई काँग्रेसले नै हराउने काम गरेको महामन्त्री कोइरालाले बताएका छन् l उनले भने, ‘काँग्रेस नै एक आपसमा नमिल्दा हार भएको हो l’

प्रतिक्रिया दिनुहोस्