Logo

असाधारण बिदा दिने व्यवस्था खारेज गरौँ : सांसद रावल



Spread the love

२१ साउन, काठमाडौँ l निजामती कर्मचारीले पाउँदै आएको असाधारण बिदा काट्नुपर्ने प्रस्ताव सत्तारूढ नेकपाका सांसद झपटबहादुर रावलले गरेका छन् ।

सङ्घीय संसद् प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा आज सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागिता जनाउँदै सांसद रावलले असाधारण बिदा दिने व्यवस्था हटाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

सांसद रावलले भने, ‘असाधारण बिदा दिने व्यवस्था खारेज गरौँ । असाधारण बिदा हाकिम वा मन्त्रीको तजबिजीमा दिइने भएकाले यो हटाउनुपर्छ । यो आवश्यक छैन, हटाउनुपर्छ ।’

असाधारण बिदा लिने हाकिमसँग पहुँच भएका तथा मन्त्री एवम् राजनीतिक पहुँच भएकाले मात्रै पाउने भएकोले यसको दुरुपयोग भइरहेको पनि सांसद रावलको तर्क थियो l

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले उक्त बिदा अध्ययनमा उपयोग भइरहेको बताउँदै निजी खर्चमा विदेशमन अध्ययन गर्न जानेलाई बिदा दिइने अभ्यास रहेको पनि प्रस्ट पारे l

राज्यलाई असाधारण विदाले घाटा नलाग्ने भनाइ सचिव कोइरालाले राखेका थिए l असन्तुष्ट रहेका सांसद रावलले असाधारण बिदा अध्ययन गर्न जाने भए त्यो स्पष्ट लेख्नुपर्ने मन्तव्य राखेका थिए l समिति सभापति शशी श्रेष्ठले पनि कुन कुन अवस्थामा असाधारण बिदा दिने हो भन्ने स्पष्ट लेखेर ल्याउन मन्त्रालयलाई निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहोस्