Logo

संसदमा सभामुख महरालाई नेतृत्वदायी र प्रभावकारी भूमिका निर्वाह गर्न भूसालको आग्रह



Spread the love

२० साउन, काठमाडौँ l सभामुख कृष्णबहादुर महरालाई संसद्मा नेतृत्वदायी र प्रभावकारी भूमिका निर्वाह गर्न नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्प भुसालले आग्रह गरेकी छन् ।

सङ्घीय संसद्को आज बसेको प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै सुरुवातमै नेतृ भुसालले सभामुख महरालाई काँग्रेसले उठाएका माग सम्बोधनका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेकी हुन् ।

उनले भनिन, “संसदबाट नेकाले आग्रह गर्छ, संसद् अवरुद्ध भएका विषयहरूलाई सम्बोधन गर्नका लागि संसद्मा रहेका सम्पूर्ण दलहरूको बिचमा सहकार्यलाई अगाडि बढाएर यी विषयहरूलाई संसदबाटै सम्बोधन गरेर सहमतिबाट एउटा निर्णयमा पुर्‍याउनका लागि सम्मानीय सभामुखज्यूको भूमिका आज यस संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सुन्न चाहेको छ, सारा नेपालीले जान्न चाहेका छन् । त्यसतर्फ सभामुखज्यूको अग्रसरता रहनेछ भन्ने अपेक्षा गर्दछौँ l”

उनले संसदबाट लोकतन्त्र अझै बलियो बनाएको अनुभूति नेपाली जनताले आभास प्राप्त गर्न चाहेको बताउँदै भनिन, “त्यसका लागि आज प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सम्मानित सभामुखज्यूको प्रभावकारी नेतृत्व र प्रभावकारी भूमिकाको अपेक्षा गर्दछ l”

अवरुद्ध हुँदै आएको संसद् सञ्चालनका लागि काँग्रेसले सभामुख महराको सक्रिय पहलकदमीको अपेक्षा गरेको सचेतक भुसालले बताइन् । सभामुख महराले संसद्को गतिरोध हटाएर संसदलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नका लागि नेतृत्वदायी भूमिका खेल्नेमा काँग्रेस विश्वस्त रहेको सचेतक भुसालको भनाइ थियो ।

भुसालले भनिन्, “सदन सञ्चालनका लागि काँग्रेसले सम्माननीय सभामुखज्यूको सक्रिय पहलकदमीको अपेक्षा गरेको छ, हामी आशावादी छौँ संसद्को गतिरोध हटाएर संसदलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नका लागि नेतृत्वदायी भूमिका खेल्नुहुन्छ भन्नेमा काँग्रेस विश्वस्त छ ।”

नेपाली काँग्रेस कुनै पनि हत्या-हिंसाको पक्षमा नभएको स्पष्ट पार्दै उनले भनिन्, “काँग्रेस पार्टीले हिजोको दिनमा पनि हत्या–हिंसाका गतिविधिलाई शान्तिपूर्ण तवरबाट व्यवस्थापन गर्नुपर्दछ भन्ने मान्यता रहेको थियो, आज पनि त्यही दृष्टिकोण छ र भोलि पनि काँग्रेसको अडान रहने छ ।”

नेपाली काँग्रेसले लोकतन्त्रका आधारभूत मूल्य मान्यताहरूसँगै विधिको शासन, समृद्ध नेपाल, भ्रष्टाचार मुक्त समाज निर्माणका लागि समाजवादतर्फ वकालत गर्नका लागि सधैँ आफ्नो दृष्टिकोणलाई अगाडि बढाउँदै आएको नेतृ भुसालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्