Logo

मिडियाले खेलाडीको मनोबल घटाउने काम गर्नु भएन : सांसद अधिकारी



Spread the love

१९ साउन, काठमाडौँ l सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले सरकारलाई दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली खेलाडीको तयारीमा तीव्रता दिन सचेत गराएका छन् ।

आज सिंहदरबारमा बसेको सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सहभागिता जनाउँदै सांसद अधिकारीले सरकारले सागका लागि पूर्वाधार विकासका लागि आवश्यक व्यवस्थापनको काममा केन्द्रित हुन सुझाव दिए ।

उनले भने, ‘खेलाडीलाई तालिमको विशेष व्यवस्था गर्नु पर्‍यो। पैसा छुट्ट्याउनु पर्‍यो । खेलाडीले चना र चिउरा त खान पाउनु पर्‍यो नि l ‘ अधिकारीले भिन्नै प्रसङ्गमा गत साता सिङ्गापुरमा भएको आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपालको प्रदर्शनलाई लिएर आएका टिप्पणी प्रति असन्तुष्टि जनाए ।

नेपालले कुन प्रतियोगितामा कसलाई हराएको विषयमा अनविज्ञ देखिएका अधिकारीले भने,’एसएलसीमा जाँच दिँदा पनि विद्यार्थी ह्यारेस हुन्छ । आइएमा जाँदा पनि त्यसैले टप्न सक्छ । हाम्रो मिडियाले पनि खेलाडीको मनोबल घटाउने काम गर्नु भएन ।’

सांसद अधिकारीले नेपाली खेलाडीलाई तयारी र तालिमको अभाव भएको बताउँदै आन्तरिक पक्ष चुनौतीपूर्ण भएको बताएका छन् l उक्त बैठकले राष्ट्रको इज्जतसँग जोडिएको सो खेलकुद प्रतियोगिता सफल बनाउने गरी सरकारलाई आवश्यक निर्देशन दिन ५ सदस्यीय उपसमिति गठन गरेको छ ।

जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिको सदस्यहरूमा नमिताकुमारी चौधरी, गजेन्द्रबहादुर महत, नविना लामा र नारायणप्रसाद मरासिनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्