Logo

भारतीय दूतावासले विषादीबारे पठाएको चिठीबारे प्रधानमन्त्रीलाई समयमै जानकारी नदिनु गल्ती भयो : कृषिमन्त्री खनाल



Spread the love

१९ साउन, काठमाडौँ l कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले भारतीय दूतावासले विषादी परीक्षणबारे पठाएको चिठीबारे प्रधानमन्त्रीलाई समयमै जानकारी नदिनु गल्ती भएको स्वीकार गरेका छन् ।

आज प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मन्त्री खनालले भारतले विषादी परीक्षणबारे केही नभनेको भनी प्रतिक्रिया दिएको २ दिनपछि मात्र प्रधानमन्त्रीको हातमा पत्र पुगेको बताए ।

उनले भने, ‘हाम्रो कमजोरी के भयो भने सम्माननीय प्रधानमन्त्रीले २१ गते बोल्नुभयो । २३ गते मात्र त्यो पत्र उहाँको हातमा पारियो । हाम्रो गल्ती त्यो भयो । यो मन्त्रालयको कमजोरी हो l ‘

गत असारमा सरकारले भारत तथा तेस्रो मुलुकबाट आउने तरकारी र फलफुल विषादी परीक्षण गरेर मात्र नेपाल भित्र्याउन दिने नीति लिएको थियो । तर भारतीय दूतावासले चिठी लेखी विषादी परीक्षण रोक्न माग गरेको थियो । तर प्रधानमन्त्रीले भने भारतबाट कुनै दबाब नआएको प्रतिक्रिया दिएका थिए ।

कृषिमन्त्री खनालका अनुसार प्रधानमन्त्रीले यसबारे प्रतिक्रिया दिँदासम्म उनलाई मन्त्रालयको तर्फबाट विषादी परीक्षण सम्बन्धमा भारतीय दूतावासको पत्रबारे जानकारी नै दिइएको थिएन ।

आज समिति बैठकमा सांसदहरूले सो बारे प्रश्न सोधे पश्चात् उनले कमजोरी भएको स्वीकार गरेका हुन् । मन्त्री खनालले दूतावासको पत्रमा गलत कुरा नभएको जिकिर गर्दै भने, ‘दूतावासले पठाएको पत्रमा त्यस्तो गलत कुरा केही लेखेको छैन । जुन सहमति गरेका थियौँ त्यो अनुसार तपाईँहरूले दिनुपर्छ भनेर उहाँहरूले लेख्नुभएको छ, त्यो प्रश्न गर्न पाउने हो, त्यसपछि हामीले फाइटो भएर रोकिराखेका हौँ भन्यौं ।’

प्रतिक्रिया दिनुहोस्