Logo

सोमपालको असफल डेब्यू , फेरी मौका पाउने सम्भावना कम



Spread the love

१९ साउन, काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी–२० मा नेपालका बलर सोमपाल कामीले डेब्यू गरेका छन् । एड्मन्टन रोयल्ससितको म्याचमा विनिपेग हक्सबाट खेल्ने पहिलो मौका पाएका उनी ब्याटिङ र बलिङ दुबैमा असफल भएका छन् ।

सो खेल एड्मन्टनले आठ विकेटले जित्यो । पहिलो म्याचमा विर्सनलायक प्रदर्शनपछि सोमपालले फेरि मौका पाउने सम्भावना कमजोर बनेको छ ।

पहिलो ब्याटिङ गरेको विनिपेगले २० ओभरमा ६ विकेट गुमाएर एक सय ९५ रनको बलियो स्कोर खडा गरेको थियो । सोमपाललाई ८ औँ नम्बरमा ब्याटिङ गर्न पठाइएकोमा उनले ५ बल खेलेर एक रन मात्र बनाउन सके ।

एक सय ९६ रनको विशाल लक्ष्य लिएर उत्रेको एड्मन्टनले आक्रामक ब्याटिङ गर्‍यो । हङकङका अंशुमन रथले ५० बलमा ८७ रनको विस्फोटक इनिङ खेले । ब्याट्सम्यान अंशुमान चम्किँदा विनिपेगका बलरहरू निरुत्साहित देखिएका थिए ।

छैटौँ बलरका रूपमा बलिङ गर्न गएका सोमपालाले २ ओभरमै ३३ रन खर्चे । उनले कुनै विकेट लिन सकेनन् । नवौँ ओभरमा उनी मोहम्मद हाफिजबाट पनि चुटिए । हाफिजले उनको बलिङ मा एक छक्क सहित १५ रन बनाए । १५ औँ ओभरमा उनको बलिङ अझै बिग्रियो र १८ रन खर्चिन पुगे । त्यसपछि उनी बलिङमा फर्किन पाएनन् ।

प्रतिक्रिया दिनुहोस्