Logo

सरकारी खर्चलाई पारदर्शी र उपलब्धिमूलक बनाउन नयाँ कानुन ल्याउनुपर्‍यो : अर्थमन्त्री खतिवडा



Spread the love

१७ साउन, काठमाडौँ l सरकारले सङ्घीय संरचनामा ७६१ वटै स्थानीय तहलाई वित्तीय रूपमा उत्तरदायी र जिम्मेवार बनाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधयेक ल्याएको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् l

संसद्को अर्थ समिति बैठकमा विधयेकमाथि दफावार छलफल थाल्नुअघि अर्थमन्त्री खतिवडाले सबै तहको खर्चलाई पारदर्शी र उपलब्धिमूलक बनाउन सो कानुन ल्याउनु परेको बताए ।

उनले भने, ‘सङ्घीय सञ्चित कोष तथा अन्य कोषको व्यवस्थापन, आन्तरिक नियन्त्रण र आन्तरिक लेखा परीक्षणलाई व्यवस्थित बनाउन यो कानुन अघि बढाइएको हो l वित्तीय सङ्घीयता कार्यान्वयनका सन्दर्भमा बजेट विनियोजन र खर्चका सम्बन्धमा धेरै कानुन निर्माण भए पनि जिम्मेवारीपूर्वक खर्च गर्नुपर्ने भएकाले त्यसैलाई व्यवस्थित गर्न यो कानुन बनाइएको छ ।’

उनले समष्टिगत आर्थिक स्थायित्व कायम राख्न तथा मध्यकालीन खर्च संरचनाको स्थायित्व तथा आयोजना बैङ्कको प्रभावकारी कार्यान्वन गर्न पनि सो कानुन आवश्यक रहेको बताउँदै बजेटको सीमा र स्रोत आकलन व्यवस्थित गर्न सो कानुन आवश्यक रहेको पनि अर्थमन्त्री खतिवडाको भनाइ छ ।

उनले भने, ‘अख्तियारी र रकमान्तर तथा स्रोतान्तर कानुनबमोजिम मात्रै गर्ने गरी व्यवस्थापन गर्न पनि यो कानुन आवश्यक थियो l बजेटको अनुशासनमा कोही पनि चुक्नु हुँदैन भन्ने मान्यतामा सरकारले यो कानुन अघि बढाएको हो ।’

संसद्मा सरकारले प्रस्तुत गरेको विधयेकमाथि अर्थ समिति बैठकमा आजबाट दफावार छलफल प्रारम्भ भएको छ।

प्रतिक्रिया दिनुहोस्