Logo

यमनको सैनिक परेडमा हुती विद्रोहीको आक्रमण, ३२ सैनिकको मृत्यु



Spread the love

१७ साउन, काठमाडौँ । यमनको दक्षिणी क्षेत्रको तटीय सहर अदनमा ‘सुरक्षा बेल्ट’ नामको सैन्य शिविरमा चलिरहेको सैनिक परेडमा हुती विद्रोहीहरूले आक्रमण गर्दा ३२ जनाको मृत्यु भएको छ । दर्जन घाइते भएका छन् । हुती विद्रोहीहरूले परेड चलिरहेका बेला मिसाइल र ड्रोन मार्फत आक्रमण गरेका हुन् ।

सरकार समर्थित सुरक्षा बलले आफूहरूमाथि आक्रमणको तयारीका लागि परेड खेलिरहेकाले आक्रमण गरेको हुती विद्रोहीको भनाइ छ । तर सरकारी अधिकारीका अनुसार त्यो परेड नयाँ भर्ती भएका सैनिकको ग्राजुयसन समारोह थियो ।

प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्ससंग बताए अनुसार सैनिक परेडमा भएको आक्रमण हेर्दा अत्यन्तै भयानक थियो । शवका टुक्राहरू जमिनमा छरिएका थिए र केही सैनिकहरू रोइरहेका थिए ।

यसअघि अदन शहरमै एक प्रहरी कार्यालयमा आत्मघाती बम आक्रमण हुँदा १० जना मारिएका थिए । यद्यपि सैनिक परेड र प्रहरी कार्यालयमा भएको आक्रमणको सम्बन्ध एकअर्कासँग जोडिएको छ कि छैन भन्ने खुलेको छैन ।

यमन लामो समयदेखि युद्धग्रस्त छ, खास गरी मार्च २०१५ देखि । मार्च २०१५ मा हुती विद्रोहीहरूले देशको पश्चिमतर्फको एक ठुलो क्षेत्र कब्जा गरेका थिए । त्यसपछि तत्कालीन राष्ट्रपति अबद रबू मन्सुर हादी यमन छाडेर भाग्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्