१६ साउन, काठमाडौँ l नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले आफ्नो कार्यमा असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने घोषणा गरेका छन् l
मन्त्री पद सम्हालेको पत्रकारहरूलाई प्रतिक्रिया दिँदै पर्यटनमन्त्री भट्टराईले स्वयंको लागि सबभन्दा ठुलो करार सम्झौता त्यही हुने बताए । आज बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले भने, ‘जुन दिन मैले काम गर्न सकिनँ अथवा म असफल भएँ, त्यो दिन प्रधानमन्त्रीले मलाई भन्नु हुनेछ, म पछाडि हट्छु ।’
आफ्नो देशलाई संसारकै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै मन्त्री भट्टराईले भने, ‘सायद प्रधानमन्त्रीले मलाई दिने निर्देशन, करार पनि त्यही हुन्छ, त्यही अनुसार म काम गर्छु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रीहरूसँग करार सम्झौता गरेका थिए । सम्झौता पश्चात् भट्टराई मन्त्री नियुक्त भएकाले उनीसँग करार सम्झौता हुन भने बाँकी नै छ ।
स्वयं सरकारको आलोचक र कठोर समर्थक भएको बताउँदै मन्त्री भट्टराईले केही दिनभित्रै आफूले गर्ने कार्य सहितको प्रतिबद्धता पत्र र मन्त्रालयका कतिपय विवादास्पद कुराहरू सार्वजनिक गर्ने बताएका छन् ।
मन्त्री भट्टराईले भने, ‘केही दिनपछि मन्त्रालयका कामकारबाहीको बारेमा, त्यहाँका विवादास्पद कतिपय विषयहरूको बारेमा र हामीले लिनुपर्ने निर्णयबारे आम जनतालाई बताउँछु ।’
आफू पर्यटनमन्त्री बनिसकेपछि धरैले बधाई दिएको बताउँदै उनले सो बधाईलाई चुनौतीको रूपमा लिएको बताए l उनले भने, ‘सोसल मिडियामा धेरै ठुलो बधाई मलाई प्राप्त भएको छ, त्यो बधाई मेरो लागि निक्कै ठुलो चुनौती हो जस्तो मलाई लाग्छ । ती चुनौतीको सामनालाई अगाडि बढ्नु मेरो दायित्व हुने छ l ‘
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको कामलाई तीव्रता दिने जानकारी दिँदै सबैको सहमति जुटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई पनि अगाडि बढाउने मन्त्री भट्टराईले बताएका छन् l