१५ साउन, काठमाडौँ l संसद् भवनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो लाचार छाया बनाएको आरोप नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले लगाएका छन् ।
आज पत्रकारहरूसँग कुरा गर्दै सांसद थापाले आफूहरूले उठाएको विषयको सम्बोधन नभएसम्म सरकारसँग कुनै किसिमको सम्झौता हुन नसक्ने स्पष्टीकरण दिए ।
उनले भने, ‘एउटा विषयलाई लिएर संसद् अवरुद्ध छ । संसदभित्र छलफल हुनुपर्छ भन्ने कुरामा हामी प्रस्ट छौँ, तर हामीलाई संसद्मा सभामुखले स्वतन्त्र भएर निर्णय गर्न सक्नुहुन्छ कि सक्नु हुन्न भन्ने कुराको डर छ ।’
यसअघि नै सभामुखले संसदीय छानबिन समिति बन्छ भनेर आश्वासन दिएता पनि अहिले उनी सरकारको प्रभावमा परेको दाबी नेता थापाले गरे ।
उनले भने, ‘हामीले त्यो बेला सभामुखको कुरा मान्नुपर्छ भनेका थियौँ । तर हामी भन्दा संसद् अवरुद्ध गर्ने साथीहरूले पहिले सभामुखको अवस्थाबारे बुझेका रहेछन्, सभामुख सरकारको छाया जस्तो हुनुभयो । सभामुख साझा हुन सक्नु भएन, एउटा दलको नेता हुनुभयो ।’
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको बखतमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे अध्ययन गर्न संसदीय समिति बनाइएको उनले स्मरण गर्दै भने, ‘सुशील कोइराला प्रम हुँदा बाराको दुर्घटनाको पनि छानबिन समिति बनेको छ, राज्यले बल प्रयोग गर्दै शक्तिको दुरुपयोग गर्यो । संसदीय छानबिन गठन हुनुपर्छ ।’
प्रधानमन्त्री ओली सरकारले संसदलाई नै निर्देशित गरेको बताउँदै संसदीय समिति संसदबाटै बन्ने उल्लेख नेता थापाले गरेका छन् । थापाले भने, ‘संसदमाथि हस्तक्षेप गर्न सरकारले बल प्रयोग गरेर प्रतिष्ठाको विषय बनाएको छ, केही दिनअघि गृहमन्त्रीले छानबिन समिति बनाउँदैनौँ भनेर गएका थिए । समिति त सदनले बनाउने कुरा हो । संसदीय छानबिन समिति नबनेसम्म सम्झौता हुँदैन ।’ सरकारले संविधानको उलंघन गर्दै गएको नेता थापाले बताएका छन् । उनले भने, ‘सरकारले संविधानको उलंघन गर्दै गर्दा प्रतिरोध गर्ने शक्ति पनि चाहिन्छ, प्रतिरोध गर्ने शक्ति गुम्न नदिन तत्काल सरकारसँग कुनै सम्झौता हुँदैन ।’