Logo

नेपाली काँग्रेसले मिलिसकेको विषयलाई उचालेर संसद् अवरोध गर्‍यो : नेता नेम्वाङ



Spread the love

१५ साउन, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले हालै संसद्मा भइरहेको अवरोधलाई प्रणाली माथिकै प्रहारको संज्ञा दिएका छन् ।

नेता नेम्वाङले निरन्तर छलफल गर्दा पनि नेपाली काँग्रेसले मिलिसकेको कुरालाई उचालेर संसद्मा अवरोध गरेको भन्दै आपत्ति व्यक्त गरे । उनले भने, ‘अस्तीको अवरोध अघि र पछि तथा अहिले पनि कुरा भएको छ। सभामुखले पनि काँग्रेससँग कुरा गर्नुभएको हो l म आफैँ पनि सभामुखलाई भेट्न गएको हो । यी सबै कुराको प्रधानमन्त्रीलाई जानकारी छ ।’

उनले संसदीय छानबिन समिति गठन गर्न आपत्ति नमान्नु पर्ने बताउँदै मिलिसिकेको विषयका लागि फेरि उचालेर संसदीय प्रणालीमाथि नै प्रहार गरिएको उल्लेख गरेका छन् ।

उनले भने, ‘राज्य व्यवस्था समितिले सम्बोधन गरिसकेको सर्लाही घटनालाई खुल्ला हाउसमा उठाउनु कति उचित हो? तल (सर्लाहीमा) सबै दलहरूले सहमतिमा टुंग्याएको विषयलाई फेरि उचालेर संसदीय समिति गठनको नारा दिनु कति जायज हो?’

२०५८ सालमा आफूहरूले ५७ दिनसम्म संसद्मा अवरोध गरेर गल्ती गरेको स्मरण गर्दै नेता नेम्वाङले भने, ‘हामीले २०५८ सालमा ५७ दिन अवरोध गरेका थियौँ । त्यो बेठीक र नियमविपरित थियो l अहिले पनि काँग्रेसले संसदीय प्रणाली विपरीत माग राख्नै अवरोध गरिरहेको छ । फेरि अर्को गल्ती कसैले नगरौँ ।’

आफूहरूले संसद् अवरोध गर्दा काँग्रेसले कम्युनिस्ट पृष्ठभूमिको विश्वास छैन भनेको सम्झिँदै गर्दै उनले यी सबै कुराले प्रणाली भत्किन सक्ने चिन्ता जनाएका छन् । उनले भने, ‘उहाँहरूले भनेको सम्झिरहेको छु, अर्को पटक पनि सरकारमा आउने होला भनेको सम्झिरहेको छु, अहिले लोकप्रियता यो बिन्दुमा छ, फेरि सरकारमा आउने होल भन्नेले त प्रणालीलाई काम गर्न दिनुपर्छ नि।’

प्रतिक्रिया दिनुहोस्