Logo

विप्लव समूहको बन्द प्रभाव : मकवानपुरमा कुकर बम, नुवाकोटमा पेट्रोल बम



Spread the love

१५ साउन, काठमाडौं । आज उपत्यका सँगै देशका केही भागमा नेपाल कम्युनिस्ट पार्टी “विप्लव” समूहले बन्द आह्वान गरेको छ । जसका कारण राजधानी सँगै देश नै प्रभावित भएको छ । उपत्यका इन्चार्ज माइला लामा र अन्य केही नेता तथा  कार्यकर्ता पक्राउ परेको विरोधमा विप्लव समूहद्वारा नेपाल बन्दको आह्वान गरिएको हो ।

बन्दका कारण राजधानीमा चल्ने  सवारी साधन र शैक्षिक क्षेत्र पनि प्रभावित भएका छन् । विशेषगरि प्रदेश ३ अन्तर्गत  उपत्यका,मकवानपुर,नुवाकोट,रामेछाप,दोलखा जिल्ला प्रभावित भएका छन् भने  प्रदेश २ अन्तर्गत महोत्तरी ,पर्सा  र प्रदेश १ अन्तर्गतको उदयपुर जिल्ला आंशिक रूपमा प्रभावित भएका छन् ।

बन्दकको क्रममा विप्लव समूहले कतै कुकर बम राखेका छन् त कतै आगजनी गरेका छन् भने कतै तोडफोड गरेका छन् । मकवानपुर जिल्लाको उप महानगरपालिका ११ स्थित थाना भर्‍याङ सदा शिवम् पेट्रोल पम्प भन्दा २० मिटर उत्तरमा पर्ने पूर्व पश्चिम राजमार्गको सडक छेउमा प्रेसर कुकर बम राखेको पाईएको थियो । प्रेसर कुकरको बाहिरी पट्टिको भागमा टेप लगाई तार निकालेको अवस्थामा रहेको बमलाई नेपाली सेनाले १५ गते बिहान ४ बजेर १० मिनेट जाँदा डिस्पोज गरेको छ । त्यसै गरी हेटौंडा उप महानगरपालिका १ चौकीटोलस्थित खाद्य संस्थान अगाडि बाटोमा गए राती प्रेसर कुकर बम भेटिएको थियो । गए राती २ बजेर २० मिनेटमा भेटिएको उक्त प्रेसर कुकर बमलाई नेपाली सेनाको टोलीले बिहान ३ बजेर २५ मिनेटमा डिस्पोज गराएका थिए । उक्त बम अत्यन्तै शक्तिशाली रहेको पनि नेपाल प्रहरीले बताएको छ ।

त्यस्तै  उपमहानगरपालिका ४ स्थित क्वीक ट्वाण्टी पार्टी प्यालेस अगाडि भित्री सडक छेउमा पनि निलो जेब्रा झोलाभित्र प्रेसर कुकर बम राखिएको थियो। बम बुधवार बिहान १ बजेर ३५ मिनेट जाँदा नेपाली सेनाको मध्य पृतना सुपारेटार ब्यारेकको डिस्पोजल टोलीले डिस्पोज गराएको छ । त्यसै गरी हेटौडा उपमहानगरपालिका ४ परिजात पथस्थित नारायणी नर्सिङ् कलेजको कम्पाउण्डको ५ मिटर पश्चिमतर्फको पेटीमा पनि प्रेसर कुकर बम फेला परेको छ । प्रेसर कुकरमा टेप लगाई तार निकालेको अवस्थामा भेटिएको थियो । शङ्कास्पद वस्तु फेला पारे लगत्तै प्रहरीले नेपाली सेनासँग समन्वय गरी बिहान ७ बजेर २५ मिनेट जाँदा उक्त बम डिस्फोज गराएको छ । प्रेसर कुकरभित्र एक थान डेटोनेटर र गिट्टी तथा बालुवा पनि भेटिएको थियो । घटनामा संलग्नताको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीका प्रमुख एसपी मुकेश कुमार सिंहले बताए। तर घटनामा संलग्नताको आशङ्कामा पक्राउ परेका व्यक्तिको आरोप पुष्टि हुने आधार नदेखिएको पनि एसपी सिंहले बताएका छन् ।

त्यसै गरी नुवाकोटमा पनि पेट्रोल बमको आक्रमणद्वारा आगजनी गरिएको छ । नुवाकोटको ककनी गाउँपालिका १ कागतीगाँउको वडा नम्बर १ मा ४-५ जनाको समूहमा आएको अज्ञात समूहको पेट्रोल बम आक्रमणबाट ककनी गाउँपालिका वडा नं. १ स्थितको कागती गाउँको कार्यालयमा  आगजनी भएको छ ।आगजनीबाट कार्यालयको भवनको २ वटा कोठामा रहेको कागजपत्र, फर्निचर, ४ थान पङ्खा र २ थान कम्प्युटर जलेर नष्ट भएको छ । क्षतिको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्