Logo

गौतमबुद्ध विमानस्थल सञ्चालनमा जर्मनीको चासो



Spread the love

१४ साउन, काठमाडौँ । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेश्नल एयरपोर्टले चासो देखाएको छ ।

विमानस्थल सञ्चालनको इच्छा जनाउँदै जर्मनीको म्युनिख एयरपोर्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पत्र पठाएको हो ।

जर्मन सरकारको स्वामित्वको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि मन्त्रालय र प्राधिकरणलाई औपचारिक पत्र पठाएको प्राधिकरणले जनाएको छ ।

नेपालस्थित जर्मनी राजदूताबासमार्फत पर्यटन मन्त्रालय र प्राधिकरणलाई भैरहवा विमानस्थल सञ्चालनका लागि प्रस्ताव आएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राससलाई जानकारी दिएका छन् ।

“गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि जर्मनले चासो दिएको छ, जर्मनी राजदूतले पर्यटन सचिवसँग छलफल गरिसकेको छ । अन्य मुलुकबाट पनि प्रस्ताव आएका छन् । अब, छिट्टै जर्मनीकोतर्फबाट प्रस्ताव पेश हुन्छ”, उनले भने ।

म्युनिख विमानस्थलमा जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको छ । यो प्रस्तावप्रति मन्त्रालय र प्राधिकरण दुवै सकारात्मक देखिएको बताइन्छ ।

गौतमबुद्ध विमानस्थल सम्बन्धमा जर्मनीबाहेक अन्य मुलुकबाट औपचारिक प्रस्ताव नआएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनले भने , “कसलाई जिम्मा दिने भन्नेबार सबै प्रक्रिया पूरा गरेर छिट्टै निर्णय हुन्छ ।”

गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘जिटुजी’ मोडेलमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

महानिर्देशक पोखरेलका अनुसार गौतमबुद्ध विमानस्थ सञ्चालनका लागि कुन देशको कस्तो कम्पनीलाई जिम्मेवारी दिने भन्ने सम्बन्धमा सरोकारवाला मन्त्रालयका प्रतिनिधि रहने गरी पर्यटन मन्त्रालयमा एक एकाइ गठन गरेर काम अघि बढाइनेछ ।

मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राधिकरण, कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्रलगायत मन्त्रालयको प्रतिनिधि रहनेछन् । त्यसले प्रस्ताव छलफल गर्ने मूल्याङ्कन गर्ने र सरकारलाई सिफारिश गर्ने गरी मन्त्रालयले छिट्टै एकाइ गठन गर्ने जनाइएको छ ।

जर्मनीसहित अन्य मुलुकबाट पनि विमानस्थल सञ्चालनका लागि प्रस्ताव आएको स्रोतले जनाएको छ । सोही प्रस्तावका आधारमा मन्त्रालयले छलफल अघि बढाएको छ । म्युनिखले गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको बताइएको छ । ( रासस )

प्रतिक्रिया दिनुहोस्