१४ साउन, काठमाडौँ l पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व माओवादी लडाकु लेलिन विष्टले हेग लैजान तयार रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय अदालत (हेग) लगेमा स्वयंलाई कुनै किसिमको समस्या नपर्ने उल्टै विश्वकै हिरो बनेर निस्कने अध्यक्ष प्रचण्डको भनाई प्रति प्रतिक्रिया दिँदै विष्टले दाहालमा छटपटाहट सुरु भएको बताए । उनले भने, ‘हामीले न्यायका लागि अन्तर्राष्ट्रिय पहल गरिरहेका छौँ, प्रचण्डको हिरो बनेर निस्कने अभिव्यक्ति त्यसैको नतिजा हो l हिरो नै बन्न मन भए पीडितहरू सबै एक ठाउँमा छौँ, उनलाई हेग लैजान तयार छौँ ।’
विप्लव समूहका केही कार्यकर्ताहरूलाई आफ्नो पार्टी नेकपामा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले आफूलाई हेग लैजाने भन्दै दिइएको धम्कीलाई ‘प्रतिगामीको डिजाइन’ को संज्ञा दिएका थिए । हेग लगेमा विश्वकै हिरो बनेर निस्कने बताएका दाहालले भनेका थिए, ‘तर मलाई यिनीहरूले हेग लगेर हिरो बन्न दिन्छन् जस्तो लाग्दैन ।’