१३ साउन, काठमाडाैँ – राष्ट्रियसभा सांसद रामनारायण विडारीले संसद्मा केही दिन पहिले मदिरा सेवनलाई निश्चित अथवा केही कडाई गर्नुपर्ने कुरा उठाए । विडारीले देश विकासमा मुख्य भूमिका हुने युवा पुस्ता नै जाडरक्सीको सेवनमा लागेर बाटो बिराएको भन्दै मदिरा सेवनालाई नियम बनाएर नै नियन्त्रण गर्नुपर्ने बताएका थिए ।
साना तर महत्व बोकेका कुरा हसिलो र घोच्ने पारामा प्रस्तुत गर्ने विडारीको अघोषित विशेषता नै हो । उनले केही दिन अघि मात्रै पनि रक्सी नियन्त्रणका लागि कार्ड र निश्चित क्षेत्र सहित उमेर निर्धारणको कुरा उठाए । उनले महत्वपूर्ण कुरामा मिसाएको रोमाञ्चक प्रस्तुतिमा रमाउँदै गरेका अन्य सांसद्को संख्या पनि बाक्लै रहेको देखिन्थ्यो ।
विडारीको सवालमा मुस्कुराउँनेको संख्या जति नै भएता पनि उनको मुद्दाले सार्थकता पाएको १ वर्ष भईसकेको छ । सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लाको गौमूल गाउँपालिकामा गत असारदेखी नै “मदिरा सेवन कार्ड“को प्रयोग हुँदै आइरहेको छ।
गाउँपालिका प्रमुख हरिबहादुर रोकायाले बताए अनुसार उक्त स्थानमा परिचयपत्र नभएका व्यक्तिले मदिरा किन्न पाउने छैनन् । ’मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको २०७५’ बनाएर गत असारबाट उक्त गाउँपालिकामा मदिरा नियन्त्रणको पहल सुरू गरिएको हो । यसरी कार्यविधिको कार्यान्वयन पश्चात जड्याहहरूको संख्यामा कमी देखिएको छ ।
कति जनाले बनाए “मदिरा सेवन कार्ड“
बाजुराको गौमुलमा २ सय जनाले “मदिरा सेवन कार्ड“ बनाएका छन् । उनीहरूले पनि निश्चित समयमा र तोकिएको पसलमा मात्र मदिरा सेवन गर्न पाउने बताइएको छ । राति ६ बजेदेखी ९ बजेसम्म मात्र तोकिएका पसलले मदिरा बिक्री गर्न पाउँछन् भने कार्ड प्राप्त ग्राहकले पनि सोही समयमा मदिरा सेवन गर्न पाउनेछन् । मदिरा बिक्री वितरणका लागि गाउँपालिकाभित्र एउटा पसलले मात्र अनुमति पाएको छ ।
कति वर्षका मानिसले पाउँछन् “मदिरा सेवन कार्ड“ ?
गौमुलमा मदिरा सेवन गर्नका लागि १८ वर्षको उमेर तोकिएको छ । १८ वर्ष मुनिकाले मदिरा खान र किन्न समेत पाउँने छैनन् । यदि उनीहरूले मदिरा खरीद र सेवन गरेको पाइएमा कारबाहीको व्यवस्था मिलाइएको छ । १८ वर्ष मुनिकालाई मदिरा बिक्री गर्ने व्यवसायीलाई पनि कारबाहीको व्यवस्था गरिएको छ ।
कार्ड बिना मदिरा किन्नेका लागि सजाय
“मदिरा सेवन कार्ड“ नभई मदिरा किन्नेका लागि जरिबाना गर्ने गरीएको छ । बिना कार्ड रक्सी किनेको तथा सेवन गरेको पाइएमा २ हजार जरिबाना तिर्ने पर्ने हुन्छ । यदि बिना कार्ड जनप्रतिनधिले मदिरा खरीद तथा सेवन गरेको पाइएमा ५ हजार जरिबानाको भागिदार हुनु पर्नेछ । गत वर्ष नियम उल्लंघन गरी मदिरा सेवन गर्नेबाट १ लाख जरिबाना संकलन गरिएको गाउँपालिका अध्यक्ष रोकायाले बताए ।
कार्डवालाले कति पिउन पाउँछन् मदिरा ?
मदिरा सेवन कार्ड भयो भन्दैमा कार्डवाला व्यक्तिले मन लागे जति मदिरा सेवन गर्न पनि पाउँदैनन् । कार्डवालाले दिनमा १ सय ८० मिलिलिटरको परिमाणमा रक्सी सेवन गर्न पाउने नियम छ । तर, बियर भने १ बोतल पिउन पाइन्छ । कार्डवालाको कार्डमा उसले कति मदिरा सेवन गर्यो भन्ने उल्लेख गरिएको हुन्छ ।
कस्तो छ त कार्डको पकृति ?
गाउँपालिकाले “मदिरा सेवन कार्ड“ सामान्य र अतिथि गरी लाई २ प्रकारमा बनाउँदै आएको छ । त्यही स्थानका मानिसका लागि सामान्य खालको “मदिरा सेवन कार्ड“ उपलब्ध गराइन्छ भने पर्यटक र अन्यका लागि “ अतिथि मदिरा सेवन कार्ड“ गाउँपालिकाले दिन्छ । मदिरा सेवन कार्ड एक पटक बनाएपछि वार्षिक रूपमा नवीकरण गर्नु पर्ने नियम गौमुल गाउँपालिकामा रहेको छ । सामान्य कार्ड पहिलो पटक बनाउँदा ५ सय रूपैयाँ लाग्छ भने वार्षिक नवीकरण शुल्क पनि ५ सय नै तोकिएको छ । “ अतिथि मदिरा सेवन कार्ड“को शुल्क भने २ सय रूपैयाँ तोकिएको छ ।
सुराकीले पनि पाउँछन् कमिसन !
मदिरा सेवनबारे बनाइएको नियम उल्लङ्घन गरेको जानकारी दिने सुराकीलाई पनि जरिबानाबाट उठेको रकमबाट कमिसन दिने गरेको छ । बैंकमा छुट्टै खाता बनाएर जरिबाना बापतको रकम जम्मा गरिने र त्यसलाई गाउँपालिकाले विभिन्न क्षेत्रमा प्रयोग गर्छ । त्यसै गरी नियम उल्लङ्घन गरेको जानकारी दिने सुराकीलाई कुल जम्मा भएको रकमको १० प्रतिशत रकम दिन्छ । यसो गर्दा सुराकीले नियम उल्लङ्घन भएको जानकारी तुरून्त गाउँपालिकालाई दिने गरेका छन् ।