९ साउन, गोरखा l एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएकी एक छात्रालाई गोरखाको पालुङटार नगरपालिकाले पुरस्कृत गरेको छ ।
भवानी माध्यमिक विद्यालयबाट एसइईमा सहभागी भएकी छात्रा अञ्जली परियारलाई एक लाख रुपैयाँसहित पुरस्कृत गरेको पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिएका छन् ।
शैक्षिक सत्र २०७५ मा एसइई दिएका नगरभित्रका सामुदायिक विद्यालयका छात्रछात्रामध्ये ३.८५ जिपिए ल्याएर उनी उत्कृष्ट भएकी थिइन् । पढाइमा अब्बल र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पुरस्कृत गर्ने नगरपालिकाको कार्यक्रम अनुसार नै नगरपालिकाले उनलाई पुरस्कृत गरेको हो l
पुरस्कृत भएकी परियारले इञ्जिनियरिङ पढ्ने तयारी गरेकी छन् । अञ्जलीले भनिन, ‘१२ कक्षासम्म पढाइका लागि पनि नगरपालिकाले सहयोग गर्ने कि भन्नेबारे छलफल भएको छ निर्णय भइसकेको छैन l ‘
प्रतिक्रिया दिनुहोस्