८ साउन, गुल्मी – गुल्मीमा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । सत्यवती गाउँपालिका वडा नम्वर ३ र ४ का ३ घर पहिरोमा पुरिँदा १२ जनाको ज्यान गएको हो ।
पहिरोमा परी ज्यान जानेमा वडा नम्वर ४ लिम्घांका एकै घरका ८ जना रहेका छन् । मृत्यु हुनेमा ६५ वर्षीया छल्ली बिक, २८ वर्षीया कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ वर्षीया अञ्जली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीया शिवानी बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै २ जनाको शव निकाल्ने कार्य जारी रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।
त्यस्तै, वडा नम्वर ३ ठुलो लुम्पेकमा ४ जनाको ज्यान गएको छ । ३२ वर्षीया तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र ६३ वर्षीय दुर्गाबहादुर सिञ्जालीको पहिरोबाट बच्न भाग्ने क्रममा मृत्यु भएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताएका छन् ।
ठूलो लुम्पेमै रुद्र बिकको घर पनि पहिरोले पुरेको छ । पहिरोमा परी ४० वर्षीया माया बिक बेपता भएकी छन् भने उनका छोरा र १६ वर्षीय गबि बिक को शव फेला परेको छ । अन्य २ जना घाइते भएका छन् घाईतेहरुलाई हेलिकप्टरबाट उपचाको लागि बाहिर पठाईएको गाउँपालिका अध्यक्ष पारीश्वर ढकालले बताए ।
मङ्गलबार पुनःवर्षा भए सँगै राहत र उद्धारमा समस्या भएको छ । राहत लिएर गएका गाडी सत्यवतीको रुद्रवेणी र सहाघाटमा रोकिएको गाउँपालिका अध्यक्ष पारीश्वर ढकालले बताएका छन् । विभिन्न ठाउँमा पहिरो गएको र पहिरो हटाउने कार्य जारी रहेको उनले उल्लेख गरेका छन् । साथै पहिरोबाट विस्थापित भएका घरधुरीलाई व्यवस्थापन गर्न समस्या रहेको उल्लेख गरे ।