Logo

२२ वर्ष नपुगेकाले रक्सी खान नपाउने कानुन बनाउनुपर्छ : सांसद विडारी



Spread the love

८ साउन, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टीका सांसद रामनारायण विडारीले ठुलो सङ्ख्यामा युवाहरू लागू औषध र्दुव्यसनमा फसेको भन्दै चिन्ता जनाए ।

रक्सी र लागू औषधको कुलतले युवाहरू बिग्रिएको भन्दै सांसद विडारीले त्यसमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा सहभागिता जनाउँदै उनले स्वदेशका युवाहरू कुलतमा फस्ने र योग्य र क्षमता भएका युवाहरू विदेश पलायन हुने गरेको उल्लेख गरेका छन् ।

विडारीले समयमै त्यसतर्फ विचार पुर्‍याउनु पर्नेमा जोड दिएका छन् । उनले भने, ‘जहाँ बसेर पनि खान पाइने, अस्पताल, मन्दिर जहाँ पनि बसेर खान पाइने देश नेपाल हो । संसारमा निश्चित ठाउँमा मात्रै रक्सी खान पाइन्छ । बिहे गर्नलाई २० वर्ष हुनुपर्ने, रक्सी खान ६ वर्ष भए पनि हुने? यो त हुँदै भएन l एउटा सटरमा रक्सी पसल, अर्कातिर औषधि पसल। कर ड्यामड्यामी आएपछि मोटर चढ्न पाइन्छ भनेर यसरी मनपरी गर्न त भएन नि !’

उनले २२ वर्ष नपुगेकाले रक्सी खान नपाउने कानुन बनाउनु पर्नेमा जोड दिएका छन् । उनले भने, ‘नागरिकता बनाउन चाहिँ १८ वर्ष पुग्नुपर्ने अनि रक्सी खान चाहिँ रोक छेक नहुने । अब टोलटोलमा को को जँड्याहा छन्, ती सबैको सूची उतारौँ ।’

भिन्दै प्रसङ्गमा बिडारीले मुलुकका विभिन्न स्थानमा निर्माण गरिएका राजमार्ग तथा साँघुरा सडकमा पैदल यात्रुका लागि पेटीको व्यवस्था नभएको भन्दै आक्रोश पोख्नका साथै सडक निर्माण गर्दा साइकल र पैदल यात्रीका लागि पेटीको व्यवस्था गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्