Logo

बल्झियो बाढी पहिरो, कहाँ के के भयो ?



Spread the love

८ साउन, काठमाडाैँ – आज बिहानबाटै परेको वर्षाले पुनः देशका विभिन्न भागमा समस्या निम्त्याएको छ । केही दिन अघि मात्र देशभर भएका डुबान र पहिरोका खबर सेलाउन नपाउँदै पुनः वर्षाले बाढी तथा पहिरोको समस्या ल्याएको छ । मौसम विभागले पनि हिजो नै बुधबार र बिहीबार वर्षा हुने भन्दै सतर्कता अउपनाउन आग्रह गरेको थियो ।

आजको वर्षाले सडकका साथै हवाई सेवामा पनि अवरोध पुर्याएको छ ।

माडी–ठोरी हुलाकी सडक अवरुद्ध

माडी नगरपालिकामा रहेका अधिकांश खोलामा पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ । रातिदेखि नै परिरहेको वर्षाका कारण खोला बढेर सडक अवरुद्ध भएको हो ।

माडी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक युवराज तिमिल्सिनाका अनुसार मगई, वगई, रतने, घाँगरलगायत खोलामा पानीको बहाव बढेको छ । बिहानैदेखि खोला बढेपछि सडकखण्ड अवरुद्ध भएको हो । रिउखोला बढेर बस्ती पस्न सक्ने देखिएपछि त्यस क्षेत्रका जनतालाई सचेत गराइएको पनि उनले जानकारी दिए ।

सडक अवरुद्ध भएसँगै सदरमुकाम भरतपुरको माडी र ठोरीसँग यातायात सम्बन्धविच्छेद भएको छ ।

आन्तरिक उडानमा पनि समस्या

प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा समेत असर परेको छ । मौसम बद्लीसँगै बिहानैदेखिको लगातार वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएका छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडानमा मौसमले असर पुर्याएको छ । विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्रा्ष्ट्रिय उडान भने नियमित भइरहेको बताएका छन् ।

प्रवक्ता तिवारीका अनुसार वर्षाका कारण देशका पश्चिमी क्षेत्रका केही विमानस्थल मात्र सञ्चालन छन् भने मध्य र पूर्वी भेगका अधिकांश विमानस्थलको सेवा अवरुद्ध छ । अहिले भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल मात्रै सञ्चालनमा छन् ।

मार्तडी–कोल्टी सडकमा थपियो समस्या 

दुई सातादेखि अवरूद्ध बाजुरा जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक खण्डमा अविरल वर्षाले अझै समस्या ल्याएको छ । लगातारको वर्षाका कारण अवरूद्ध बनेका सडकलाई आजको वर्षाले अझ असर पुर्याएको हो । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हुँदै आएका सवारीसाधन ठप्प भएका छन् । मार्तडीका उपाध्यक्ष पृथ्वी रावलले वर्षा निरन्तर भए पहिरोको पनि खतरा हुने बताएका छन् ।

हेटौँडामा गाडी नै बगाउने बाढी

हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको छ । शिवम् सिमेन्टको कच्चा पदार्थ पुर्याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो । गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्