८ साउन, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले सरकारलाई असफल बनाउन कर्मचारीहरूको ट्रेड युनियन पनि खारेज गर्न लाग्यो भनेर भ्रम फैलाउने काम भइरहेको दाबी गर्दै सचेत रहन पनि कर्मचारीहरूलाई आग्रह गरेका छन् ।
आज बिहान आफ्नै सरकारी निवास बालुवाटार पुगेका निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभियानमा योगदान गर्न पनि कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
त्यस अवसरमा उनले कर्मचारी प्रशासनले सहयोग गरेको स्पष्ट पार्दै त्यसलाई अझ प्रभावकारी, स्वच्छ र सेवा उन्मुख बनाउनुपर्ने आवश्यक्ता औंल्याए ।
प्रधानमन्त्री ओलीले सरकारलाई दिमाग र कर्मचारीहरूलाई हातखुट्टाको रूपमा चित्रण गर्दै कर्मचारीको सहयोग विना सरकार एक्लैले केही पनि गर्न नसक्ने स्मरण गराए ।
उक्त अवसरमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय तहमा जाने कर्मचारीहरू अलपत्र परेकाले उनीहरूको समस्या तत्काल समाधान गरी दिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।
त्यसै गरी अध्यक्ष ढकालले प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीहरूको तहगत प्रणाली अनुसारको सेवा सुविधाका लागि आवश्यक बजेटको व्यवस्था छिटै गर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले कर्मचारीको मागका विषयमा पुनः वार्ता गरेर आवश्यक निर्णय लिने प्रतिबद्धता जनाएका थिए ।