८ साउन, काठमाडौँ l श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दक्षिण कोरियामा रहेका करिब ६३ हजार नेपाली कामदारले पाएको ज्ञान, सीप, क्षमता र अनुभवले समृद्ध नेपाल बनाउन सहयोग पुर्याउने बताए ।
उनले दक्षिण कोरियाबाट फर्केका कामदारहरूको सीप र अनुभवलाई भरपुर प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन सरकार लागि पर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।
दक्षिण कोरियाले आफ्नै स्रोत र साधनको प्रयोग गरेर समृद्धि हासिल गरेको उल्लेख गर्दै त्यसबाट नेपालले धेरै पाठ सिक्न सक्ने मन्त्री विष्टको भनाइ थियो ।
दक्षिण कोरिया आफ्नै मिहिनेतको बलमा समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै त्यसलाई ग्रहण गरेर नेपालले पनि अघि बढ्ने योजना तय गरिरहेको विष्टले बताएका छन् ।
नेपालमा पनि रोजगारीको अवसर सृजना हुने गरी लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई उनले आग्रह गरेका छन् । नेपाली कामदारलाई दक्षिण कोरियाले गुणस्तरीय रोजगारीको अवसर दिएको बताउँदै अव नेपालमै रोजगारीको अवसर सृजना हुने गरी लगानी गर्न आग्रह गरेका हुन् ।
गए दिन दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरूले काठमाडौँमा सञ्चालन गरेको कार्यक्रममा सहभागिता जनाउँदै उनले नेपालमा लगानीका लागि आवश्यक वातावरण बनेको तर्फ पनि दक्षिण कोरियाली निजी क्षेत्रको ध्यानाकर्षण गराएका छन् ।