Logo

कांग्रेसमा निष्ठावान कार्यकर्ताको खोजी अभियान



Spread the love

८ साउन, कास्की l नेपाली काङ्ग्रेसलाई व्यक्तिगत स्वार्थपूर्तिको साधन बनाउने क्रम बढेको भन्दै पार्टीमा मूल्य मान्यता स्थापित गर्ने उद्देश्यका साथ ‘नेपाली काङ्ग्रेसभित्रै निष्ठावान काङ्ग्रेसको खोजी’ अभियानलाई अघि बढाइएको छ ।

अभियानबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार भेटघाटमा अभियानका संयोजक प्रा डा भूपति ढकाल ‘कमल’ले पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुटका कारण सङ्गठन दिनानुदिन कमजोर बन्दै गएको बताए ।

नेपालमा राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापनादेखि दोस्रोे लोकतान्त्रिक आन्दोलन हुँदै गणतन्त्रसम्म आइपुग्दा काङ्ग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै उनले राष्ट्र र लोकतन्त्रको रक्षाका लागि पार्टी मजबुत बन्नुपर्ने बताए ।

गुट–उपगुटले काङ्ग्रेसलाई कमजोर बनाउने र त्यसको प्रत्यक्ष असर राष्ट्र र लोकतन्त्रमाथि पर्ने भएकाले देशव्यापीरूपमा नै नेपाली काङ्गेसभित्रै निष्ठावान काङ्ग्रेसको खोजी अभियानलाई सक्रिय बनाइने जानकारी दिए ।

“यो अभियानको उद्देश्य काङ्ग्रेसको गरिमामय योगदानलाई जीवन्त राख्दै पार्टीलाई आफ्नो मूल्य मान्यताअनुरुप क्रियाशील गराउनका लागि हो, कुनै पदप्राप्ति वा अन्य स्वार्थमा आधारित भई गरिएको होइन”, नेपाल प्राध्यापक सङ्घका पूर्वकेन्द्रीय सभापतिसमेत रहेका ढकालले भने “अनुशासित र क्रियाशील काङ्ग्रेस राष्ट्रका लागि आवश्यक छ ।” (रासस)

प्रतिक्रिया दिनुहोस्