काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
विक्रम सम्वत १९८१ मा रामेछापको भंगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीका माइला छोराका रुपमा जन्मिएका पुष्पलाल प्रजातान्त्रिक आन्दोलनका शहीद गंगालालका भाई हुन् ।
पुष्पलाल श्रेष्ठले २००६ सालमा निरञ्जनगोविन्द वैद्य, नारायणबिलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसहितको नेपाल कम्युनिष्ट पार्टी गठन गरेका थिए । भारतको कोलकातामा पार्टी गठन भएको हो ।
प्रजातन्त्रको पुनःस्थापना गर्न कम्युनिष्ट र कांग्रेस मिल्नु पर्छ भन्ने विचारका नेता पुष्पलाललाई दूरदर्शी नेताका रुपमा स्मरण गरिन्छ । उनकै विचार अनुसार कम्युनिष्ट र कांग्रेस मिलेपछि देशमा प्रजातन्त्र पुनर्बहाली भएको हो । पुष्पलालले गठन गरेका पार्टी नेकपा विगतमा अनेक चिरामा विभक्त भए पनि पुनः एकीकरण भएर नेकपा बनेको छ ।
उनको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा-गराउँदै निधन भएको थियो ।