Logo

नेपाल अहिले समाजवादको यात्रामा छ : अर्थमन्त्री खतिवडा



Spread the love

 

६ साउन, काठमाडौँ l अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षाका कार्यक्रम समाजवादको जग भएको बताए ।

सामाजिक सुरक्षा विश्वव्यापी रूपमा स्वीकार गरिएको भन्दै उनले संसारका कुनै पनि मुलुक यसबाट पछाडि हट्न नसक्ने जिकिर गरेका छन् ।

नेपालले समतामूलक विकासको मान्यता अंगिकार गरेको भन्दै अर्थमन्त्री खतिवडाले मानव विकासलाई विकासको महत्वपूर्ण आधार मानिएको उल्लेख गरेका छन् ।

उनले भने, ‘नेपाल अहिले समाजवादको यात्रामा छ, हामी बजारमैत्री व्यवहारबाट अघि बढ्न खोजिरहेका छौँ l सामाजिक न्यायसहितको विकासको बाटोमा हामी छौँ, यसले समाजमा रहेको असमानता पनि हटाउँदै लैजानेछ।’

बजार स्फुर्त सञ्चालन भइरहेको अवस्थामा उत्पन्न हुने असमानता अन्त्यका लागि पनि सामाजिक सुरक्षा आवश्यक पर्ने उनको भनाइ रहेको छ ।

जर्मन सहयोग नियोग जिआइजेड र नेपाल सरकारले सञ्चालन गरेको इन्टरनेसनल कन्फेरेन्स अन सोसल प्रोटेक्सन कार्यक्रममा सहभागिता जनाउँदै उनले दिगो विकासका लक्ष्य हासिल गर्न पनि सामाजिक सुरक्षाका कार्यक्रमलाई अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।

उत्पादनका साधनको वितरण र सबैलाई श्रम बजारमा उपयुक्त अवसरको खोजी गर्न नसक्ने हो भने त्यसले सामाजिक असमानता बढाउने भन्दै अर्थमन्त्री खतिवडाले स्रोतको परिचालन समानताका लागि हुनुपर्ने उल्लेख गरेका छन् ।

उनले भने, ‘गरिबी पूर्णरुपमा अन्त्य नभएको अवस्थामा कमजोर व्यक्तिहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु आवश्यक हुन्छ l त्यसैका लागि हामीले काम गरिरहेका छौँ, सरकारले त्यसतर्फ ध्यान दिइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्