मानिस एक चेतनशील प्राणी हो l जसलाई कहिले हास उठ्छ त कहिले रिस उठ्छ l यो नियम बालक देखि बृदा समेतलाई लागु हुने गर्दछ l तर कोही बच्चा यस्ता हुन्छन्, कि जो रिसाएपछि फक्कीदैन र उनीहरूलाई सम्हाल्न पनि गाह्रो हुने गर्दछ ।
उनीहरू रिस आवेगले गर्दा यति भड्किन्छन् कि सामान तोडफोड गर्ने, चिच्याउँने र निराश भई रुने हर्कत गर्दछन् । जसलाई टानट्रम भनेर बुझिन्छ ।
यस किसिमको समस्या बच्चाहरूमा आमाबुवा कै कारण हुने गर्दछ l यदि आमाबुवा तनाव, चिन्ता वा निराश भएमा बच्चालाई टेन्ट्रमको समस्या हुने गर्दछ l जब बच्चाहरूमा यस किसिमको प्रवृत्ति विकास हुन्छ, तब उनीहरूलाई सम्हाल्न निकै गाह्रो हुने गर्दछ ।
टेन्ट्रम भनेको के हो ?
टेन्ट्रम भन्नाले क्रोध वा भड्किनु भन्ने बुझिन्छ । बालबालिकामा टेन्ट्रम जसरी पनि प्रकट हुन सक्दछ l रिस, उदासी, रुने, कराउने, कुद्ने, सास रोक्ने, वान्ता गर्ने र एकदमै आवेगमा आएर जे पनि गर्ने किसिमको हुन्छ ।
यस्तो समस्या बालबालिकालाई सानै उमेरमा देखिन्छ । खास गरी १ वर्ष देखि ३ वर्षको उमेरमा l यही उमेरमा किन हुन्छ त ? किनभने यति बेला बच्चाको सामाजिक र भावनात्मक क्षमता विकास भइरहेको हुन्छ ।
उनीहरूसँग आफ्नो भावना तथा इमोसन प्रकट गर्नका लागि शब्द हुँदैन । उनीहरू आफूलाई व्यक्त गर्न चाहन्छन् तर सक्दैनन् । बच्चाहरूले अरूको ध्यान आकर्षण गर्न र आफ्नो भावना व्यक्त गर्नका लागि केही न केही गर्नुपर्ने हुन्छ । आफुभित्र भएको कुरा वा पीडा व्यक्त गर्दा उनीहरूको व्यवहार आवेग क्रमशः बानीमा रूपान्तरण हुने गर्दछ ।
कसरी टेन्ट्रमको समस्या उत्पन्न हुन्छ ?
जुन बालबालिका चाडै उदास हुने गर्छन् l त्यस किसिमका बच्चाहरूमा टेन्ट्रमको खतरा अधिक हुने गर्दछ ।
यदि कुनै बच्चा तनावग्रस्त, भोक र थकानग्रस्त अवस्थामा रहने गर्छ l तब यो प्रवृत्ति विकास हुने गर्छ ।
टेन्ट्रम बच्चाको विकास प्रक्रियाकै एक स्वभाविक हिस्सा हो र यसबाट बच्न सकिँदैन । यद्यपि प्रयास गरियो भने धेरै हदसम्म यसलाई नियन्त्रण गर्न भने अवश्य नै सकिनेछ । याद राख्नुहोस् प्रत्येक बच्चा एक अर्काभन्दा भिन्न किसिमको हुने गर्दछन् । एउटा बच्चालाई यस किसिमको प्रवृत्तिबाट हटाउन जुन उपाय अपनाइन्छ, अर्को बच्चाका लागि ठ्याक्कै सोही उपयोगी हुन्छ भन्ने छैन । त्यसैले यो कुरा बच्चा अनुसार पनि फरक हुने गर्छ ।
बच्चालाई व्यस्त राखौं
बच्चाहरूलाई जहिले पनि एकै ठाउँमा राख्दा वा एउटै कुरा गरिरहँदा दिक्क मान्न सक्छन् । जब उनीहरूलाई दिक्क लाग्न थाल्छ, त्यो दिक्क क्रोधमा रूपान्तर हुन्छ । क्रोधकै कारण उनीहरू झैँ-झगडा र चिच्याउन थाल्दछन् । उक्त कारण बच्चालाई दिक्क लाग्ने अवस्था आउँ नदिई नयाँ नयाँ काममा व्यस्त गराई राख्नुपर्दछ l
बेलाबखतमा लामो सास लिने अभ्यास गराउनुपर्छ
एक पटक आफ्नो बच्चामा टेन्ट्रमको समस्या देखा परेमा उनलाई व्यायाम एवं प्राणायामको अभ्यास गराउनुपर्छ । खास गरी लामो सास लिने र छाड्ने अभ्यास गराउनुपर्दछ l जसले गर्दा उनीहरूको मन चङ्गा हुनका साथै बेचैनीबाट पनि छुटकारा मिल्ने गर्दछ ।
सजाय दिने भुल नगरौं
यदि तपाइको बच्चाले गल्ती गर्दछ र तपाईँ उसलाई सजाय दिनु हुन्छ भने त्यो आगोमा घिउ थप्ने काम हो । प्राय जसो अभिभावकहरू आफ्ना बालबालिकालाई कुटेर वा तर्साएर ठिक पार्ने गर्दछन् । बच्चा रिसाएमा, चिच्याएमा वा कराएमा सजाय दिएर डर देखाउँछन् । तर, यो ठुलो भूल हो । किनकि बच्चामा त्यस किसिमको प्रवृत्ति विकास हुनुमा अभिभावककै दोष हुन्छ । अबोध बच्चाले जानेर वा चाहेर आफूलाई क्रोधित बनाएका हुँदैनन् । उनीहरूलाई कुटेर थप सताउनुभन्दा शान्त रहन दिनुहोस् ।
बच्चालाई थोरै स्पेश दिनुहोस्
यदि बच्चाहरू रिसाएर चिच्याउने, कराउने र तोडफोड गरेर आफ्नो आवेग बाहिर निकाल्न चाहन्छन् भने त्यस बखत उनीहरूलाई पुरा छुट दिनुपर्दछ । जब उनीहरू चिच्याएर रुन्छन्, तब उनीहरूको सबै तनाव बाहिर निस्किएर केही क्षण पश्चात् आफै शान्त हुने गर्छन् ।