Logo

प्रहरीको आचरण सुधार्न आईजीपी खनालको ‘मार्सल टिम’



Spread the love

५ साउन, काठमाडौँ l प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीको आचरण सुधार र कमजोरी गरेको पाइए आवश्यक कारबाही गर्नका लागि गोप्य ‘मार्सल टिम’ गठन गरे ।

उक्त गोप्य टिम प्रहरीका प्रत्येक काम पारदर्शी रूपमा भए–नभएको अध्ययन र आवश्यक कारबाही सिफारिसका लागि गठन गरिएको हो । टोलीलाई प्रहरी नियमावली विपरीत काम गरे–नगरेको अनुगमन गर्ने र आचरण विपरीतको काम गरेको पाइए कारबाहीको सिफारिस गर्ने अधिकार दिइएको आईजीपी सचिवालयका एक अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा रहेको टोली आईजीपीको प्रत्यक्ष सम्पर्कमा हुने र उनकै निर्देशनमा परिचालित हुन्छ । सचिवालयका एक उच्च प्रहरी अधिकारीले भने, ‘‘यो टोली सादा पोशाकमा खटिनेछ । टोलीमा को–को छन् भन्ने कुरा गोप्य हुन्छ । जनगुनासो आए वा नआएमा पनि जुनसुकै समयमा जुनसुकै प्रहरी कार्यालयमा आकस्मिक अनुगमन तथा चेक जाँच टोलीले गर्न सक्छ ।’’

टोली विभिन्न किसिमबाट प्रहरी कार्यालयहरूमा प्रवेश गर्न सक्नेछ । प्रहरी अधिकारीका अनुसार यसअघि पनि प्रहरी प्रधान कार्यालयको टोलीले अनुगमन भने गर्दै आएको थियो । तर नयाँ टोली सक्रिय रूपमा लाग्ने र यसले देशभर प्रहरीको सेवाप्रति नागरिकको अपेक्षा लगायतका विषय बुझ्न सहज हुने आईजीपीको विश्वास रहेको छ ।

देशभर कार्यक्षेत्र रहेको टोलीले अध्ययनका क्रममा आचरण विपरीत काम गरेको पाइएमा नियन्त्रणमा समेत लिन सक्नेछ । टोलीले कारबाहीको सिफारिस मात्रै होइन, प्रहरी कार्यालयका समस्या र सकारात्मक विषयको बारेमा समेत आईजीपीलाई लिखित प्रतिवेदन पेस गर्नेछ । टोलीले कारबाही लगायतका विषयमा दिएको प्रतिवेदनमाथि आईजीपी सचिवालयअन्तर्गतको उजुरी छानबिन शाखाले कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ । आईजीपीले गठन गरेको टोलीले उपत्यकाका केही वृत्तमा आकस्मिक अनुगमन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्