५ साउन, काठमाडाैँ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासत कक्ष अहिले इञ्जिनियरहरूको भिडले भरिएको छ । विभिन्न कामका विभिन्न क्षेत्रसँग सम्बन्धित इञ्जिनियरहरू धमाधम पक्राउ पर्न थालेपछि अहिले अख्तियारमा पक्राउ परेका इञ्जिनियरहरूको लर्काे लागेको हो ।
अख्तियारले गत असारयता मात्रै २० जना इञ्जिनियरहरूलाई पक्राउ गरेको छ भने ती मध्ये १६ जना अख्तियारको हिरासतमै रहेका छन् । विभिन्न काम गरेबापत बिल भुक्तानी गर्ने सबालमा घुस लेनदिनमा इञ्जिनियरहरू पक्राउ परिरहेका छन् ।
कहाँबाट को समातिए ?
अख्तियारको टोलीले शनिबार अर्थात् साउन ४ गते मात्रै एउटै काममा सम्लग्न ३ इञ्जिनियरहरूलाई पक्राउ गरेको छ । शनिबार पक्राउ पर्नेमा हरिप्रसाद चौधरी, कमल सिटौला र विश्वेश्वरप्रसाद साह रहेका छन् । उनीहरू अख्तियारको नेपालगञ्ज सम्पर्क समितिको कार्यालयबाट खटिएको टोली मार्फत अख्तियारको फन्दामा परेका हुन् । उनीहरू तीनै जना कर्णाली नदीमा तारजाली भर्ने काम बापतको बिल भुक्तानी गर्दा घुस मागेपछि पक्राउ परेका हुन् । इञ्जिनियर बाहेक सवारी चालक टंकप्रसाद ओझा पनि अख्तियारको फन्दामा परेका छन् । जगातीबाट प्रकाश अधिकारी र भोगेन्द्र साह, सिरहा गोलबजारबाट सब-इञ्जिनियर उमा श्रेष्ठ, सर्लाहीबाट रामजीबाबु यादव र तनहुँबाट प्रकाश पौडेल अख्तियारबाट समातिएका छन् ।
एउटै काम बापत ३ जनालाई घुस ?
कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियर घुससहित पक्राउ परे । उनीहरूले बिल भुक्तानी गराए बापत पैसा दिए बिल पास हुने नत्र नहुने भनेपछि पीडित अख्तियारसम्म गए । पीडित पक्षको सुचनाका आधारमा उनीहरू (हरिप्रसाद चौधरी, कमल सिटौला र विश्वेश्वरप्रसाद साह)लाई टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
महिला पनि कम छैनन् !
अख्तियारको बर्दिबासस्थित कार्यालय मार्फत सब–इञ्जिनियर उमा श्रेष्ठ पनि फन्दामा परिन् । सिरहा गोलबजारकी श्रेष्ठ पनि बिल भुक्तानीकै विषयमा घुस लिएको अभियोगमा पक्राउ परिन् । सब-इञ्जिनियर उमालाई अख्तियारको टोलीले शौचालय निर्माण बापतको बिल भुक्तानी सहज रूपमा गराइदिने भन्दै ५० हजार रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
होटल तथा चिया पसलमा हुन्छ लेनदेन
घुस रकम माग गर्न जति सिपालु छन्, त्यति नै सतर्कता अपनाउन सिपालु छन् कर्मचारीहरू । पछिल्लो समय अख्तियारले पक्राउ गरेका विभिन्न घुसका घटनाहरू हेर्दा घुस लेनदेनको अखडा होटल तथा थिया पसलहरू देखिएका छन् । गोलबजारबाट पक्राउ परेकी सब-इञ्जिनियर उमा पनि बसपार्कस्थित अशोक साहको होटलबाट पक्राउ परेकी हुन् ।
गाउँमा काम, पैसा काठमाडौँमा !
गत शुक्रबार दोलखाबाट काठमाडौँ आउँदै गरेको बा.१झ ५२८० नम्बरको सरकारी गाडी भक्तपुरको जगातीमा समातियो । त्यसमा सवार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह र सवारीचालक सुमन खड्का पनि अख्तियारको फन्दामा परे । प्रकाश अधिकारी १३ लाख ३८ हजार पाँच सय तथा भोगेन्द्र साह १ लाख २९ हजार १ सय पाँच रुपैयाँसहित समातिए । प्रारम्भिक अनुसन्धानबाट उनीहरू काठमाडौँमा सिँचाइ विभागका डिजी र सिँचाइ मन्त्रालयका सचिवलाई बुझाउन पैसा गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।