३ श्रावण , पोखरा – प्राविधिक शिक्षामा महिलाको उपस्थिति अझै पनि बढ्न नसक्नुका कारणबारे पोखरामा छलफल गरिएको छ । नेपाल इञ्जिनीयर्स एशोशियशन गण्डकी प्रदेशले ५७आैँ इञ्जिनीयरिङ दिवसका अवसरमा पोखरामा आयोजना गरेको ‘सेमिनार अन वुमन एन इञ्जिनियरिङ’ कार्यक्रममा सहभागीले यस क्षेत्रका चुनौती र अवसरको बारेमा आफ्ना कुरा खुलेर राखेका छन् ।
कार्यक्रममा सहभागीले इञ्जिनीयर भन्दा पहिला महिलाको आवरण नियालेर व्यवहार गर्ने परिपाटीले पेशाप्रति सम्मान हुन नसकेको धारणा राखेका थिए । पितृसत्तात्मका सामाजिक समाजमा एउटै काम र क्षमतामाथि पनि महिला भएकै कारण हुने विभेद् हिंसादेखि महिला भएकै कारण प्राप्त हुने अवसरका बारेमा समेत सहभागीले आफ्ना अनुभव राखेका थिए ।
इञ्जिनीयरका अनुसार पहारीले यस क्षेत्रमा महिलालाई चुनौती भए पनि अवसर धेरै रहेको धारणा राखे । अझै पनि धेरै छोरी यस क्षेत्रमा पढ्न चाहे पनि सामाजिक आर्थिक कारणले आउन नसकेको उनको भनाइ थियो । इलेक्ट्रिकल इञ्जिनीयर दीक्षा शर्माले सामाजिक सुरक्षा र आर्थिक पक्ष पहिलो शर्त हुने गरेको भनाइ राखे । समस्याका चाङ धेरै रहेका तर त्यो राख्ने उचित ठाउँ नभएकाले यस क्षेत्रमा महिला झनै समस्यामा हुने गरेका उनको भनाइ थियो ।
कार्यक्रमा डा सुमित्रा अमात्यले इञ्जिनीयरिङ क्षेत्रमा चुनौती र अवसर, जुन डङ्गोल हाडाले वर्तमान समयमा साइन्स टेक्नोलोजी, इञ्जिनीयरिङ र म्याथम्याटिक्समा महिलाको अवस्था र पत्रकार बबिता बस्नेतले व्यावसायिक महिलाका चुनौती र त्यसबाट हासिल हुने अवसरका विषयमा प्रस्तुति राखेका थिए ।
सहभागीको जिज्ञासा र प्रदेश सरकारको नीतिबारे बोल्दै सामाजिक विकासमन्त्री नरदेवी पुनले अभिभावकले छोरीमा लगानी गर्न अझै पनि सकारात्मक हुन नसक्दा प्राविधिक क्षेत्रमा महिलाको उपस्थित सोचे जसरी बढ्न नसकेको बताए । परिवारबाटै छोरा र छोरीबीचमा गरिने विभेद्को असर शिक्षामा प्रत्यक्ष देखिएको भन्दै छोराको साहाराबिना बाँच्न सक्दिन भन्ने सोच बदल्नुपर्ने बताए ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिला इञ्जिनीयरको समस्या समाधानका लागि महानगरपालिका सधैँ तयार रहेको बताए । नेपाल इञ्जिनीयर्स एशोसिएशन गण्डकी प्रदेशका अध्यक्ष बाबुराम भण्डारीले प्राविधि विषय भनेको जीवन जीउनाले कला भएकाले यसलाई जीवनसँग जोडेर सरलीकृत गराउनुपर्ने धारणा राखे । प्रत्येक नौ जनामा एकजना मात्रै महिला इञ्जिनीयर हुने गरेको तथ्याङ्क राख्दै नेपालमा इञ्जिनीयर्स एशोसियशनमा जम्मा ७.३८ प्रतिशत मात्रै व्यावसायिक महिला इञ्जिनीयर्स आवद्ध रहेका उनले बताए ।