वि.सं. २०४६ साल मङ्सिर २८ गते पिता हरिशंकर थापा मगर र माता कृष्ण देवी थापा मगरको सुपत्रीको रुपमा भिम्फेदी- १, धोर्सिङ, मकवानपुरमा जन्मिएकी संगीता थापा हाल मैतीदेवी, काठमाडौंमा बसोबास गर्दछिन् । एम.ए. सक्काइसकेकी थापा थिएटरमा कार्यरत छिन् । प्रथम राष्ट्रव्यापी खुल्ला गजल प्रतियोगिता (२०७०) र कलेज स्तरीय गजल प्रतियोगिता (२०७०) मा प्रथम स्थान हासिल गरेकी थापा गजल मन्च मकवानपुर (२०७३) र सरस्वती नगर सुधार केन्द्र (२०७३) बाट सम्मानित पनि भएकी छिन् । उनी हाल मधुवन साहित्यिक प्रतिष्ठानमा कोषाध्यक्षको रुपमा संलग्न छिन् ।
प्रस्तुत छ, सल्लेरी कोलाजका लागि गजलकार संगीता थापासँग सल्लेरी खबरका राजु झल्लु प्रसादले गरेको साहित्यिक चर्चाको संक्षिप्त अंश:
राजु- अरबिक माटोमा जन्मिएर हिन्दी, उर्दु भाषा हुँदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो कालखण्ड बिताइसकेको छ । अन्य साहित्यिक विधा सरह यस विधा पनि नेपाली साहित्य जगतमा अग्रणी स्थानमा छ । यो हदसम्म गजल रुचाइनुको पछाडी के-कस्ता कारण हुन सक्छन् ? समकालीन नेपाली गजलको गम्भीरता वा गतिशीलता जीवन्त छ ?
थापा- नेपाली साहित्य जगतमा गजललाई स्ट्याब्लिस गर्नका लागि हाम्रा अग्रजहरु जसरी लागि पर्नु भयो, जुन भुमिका निर्वाह गर्नु भयो त्यसैको परिणाम हो- आजको गजल । अर्को कुरा गजलको संरचनामा प्रयोग हुने शब्दहरुले (काफिया, रदिफ, मतला, मकता, शेर, मिसरा, ए उला, ए सानी, तखल्लुस) गजल प्रति आकर्षण गराउँछ ।
सिङ्गो उपन्यास एउटा शेरले बोकेको हुन्छ । चार पाँच वटा शेरमा चार पाँच वटा उपन्यासको थिम लेख्न सक्छौ । गजल सुन्दा मात्रै पनि कस्को हो भनेर छुट्याउन सक्छौं । त्यो कसरी सम्भव छ भने लेख्ने शैलीले छुट्याउँछ । गजल रुचाइनुको पछाडिको एउटा कारण शैली पनि एक हो । अर्को तर्फ गजलको सौन्दर्य भनेको गायन/वाचन हो । गजल वाचन गर्दा वा गाउँदा होस् शेर नै पिच्छे शब्दहरु दोहोर्याउने र दर्शक स्रोताहरुबाट यस्तो माहोल बन्छ कि जो कोहिलाई पनि गजलप्रति लोभ लाग्छ ।
राजु- भनिन्छ- गजल ‘लिरिकल पोइम’ अर्थात गेय कविता हो । यद्यपी गजलमा लय अर्थात् बहरको प्रयोग क्रमश: घटिरहेको अवस्था देखिन्छ । गजलमा बहर प्रयोग साचै कठिन छ ?
थापा- गजलमा बहरको प्रयोग कठिन चाहिँ होइन । अभ्यास गर्न अल्छी मान्नेहरुका लागि भने कठिन नै होला । तर बहरको प्रयोग भने केही हदसम्म कम्प्रमाइज भने हो । ह्रस्व दीर्घ मिलाउने चक्करमा कतिपय अवस्थामा शब्दसँग कम्प्रमाइज गर्नु पर्ने हुन्छ । यो कारणले गजलमा बहरको प्रयोग घटिरहेको जस्तो देखिए पनि अहिलेका युवापुस्ताहरु बहरको अभ्यास गरिरहेको प्रशस्तै भेट्न सकिन्छ ।
राजु- “गजलका हरेक शेर एउटै मात्र भाव वा कथ्यमा समेटिनु आवश्यक छैन- यो स्वतन्त्र र गेयगुणयुक्त साहित्यिक पद्य विधा हो” भन्ने गरिन्छ । गजललाई लिएर तपाईको वैयक्तिक धारणा ? गजललाई कहाँसम्म स्वतन्त्र छोड्न सकिन्छ ?
थापा- गजल यसै पनि साहित्यको सुन्दर विधा हो । मेरो अध्ययनले के भन्छ भने गजलमा जसरी शेर नै पिच्छे फरक फरक कथ्य अथवा भाव समेट्न सकिन्छ भने गजलको अर्को सौन्दर्य त्यही हो । गजलको संरचनालाई हेर्ने हो भने त स्वतन्त्र भन्ने नै रहन्न तर भाव र कथ्यमा हेर्ने हो भने स्वतन्त्र छोड्न सकिन्छ ।
प्रस्तुत छ, थापाका तीन गजल:
पहिलो गजल
नाम कमाउने कति कति बहाना बनायो !
उसले आफ्नै मृत्युको समाचार छपायो !!
मोसो दलेर हिडेदेखि सुरक्षित भएकी छु
खराब वस्तु पनि जिन्दगीमा काम आयो !!
बाँझो कोखले रुवाएको वर्षौ भयो मलाई
काम यस्तो छ अरुको बच्चा हेर्यो रमायो !!
निधारमा खरानी लगाउने रहरले मात्रै हो
उस्ले अरु नसोची घरमा आगो लगायो !!
दोस्रो गजल
नपर्ख भनेर मनलाई सम्झाएको छैन !
कोही, यो बाटो फर्केर आएको छैन !!
बुख्याँचा बनेर चोकमा उभिरहेको छु
यो समय किन मसँग डराएको छैन ?
ऊ मलाई सम्झेर नरुनु भनेर गएपछि
सिउँदो पुछिदा पनि रुन पाएको छैन !!
जलाउँछु भन्थ्यो ! के भनी सम्झायो ?
आगोले पनि उस्को याद जलाएको छैन !!
तेस्रो गजल
तिम्रो इलाकाको चरी हुँ आजाद नभएको !
मलाई यहि कुरा हो कहिल्यै याद नभएको !!
फाँसी चढ्ने रहरले दौडिदै आए र फर्किए
यो कस्तो वधशाला हो जल्लाद नभएको !!
सन्काहा डाइरेक्टरले जिब्रो काटिदियो
हेर ! म त्यही फिल्म हूँ संवाद नभएको !!
ऊ आएको हो मलाई बर्बाद गराउँछु भन्दै
एक प्रेमी म उस्को प्रेममा बर्बाद नभएको !!