Logo

बर्दिवास–जयनगर रेलमार्गको इनरुवा खण्डमा क्षति



Spread the love

३ श्रावण, बर्दिवास – गत सातादेखि परेको निरन्तर वर्षाका कारण निर्माणाधीन बर्दिवास–जयनगर रेलमार्गको इनरुवा खण्डमा क्षति पुगेको छ । यस रेलमार्गको ७० मिटर क्षेत्रमा असर पुगेको छ ।

वर्षातका कारण हालै सम्पन्न भएको रेलमार्गमा क्षति पुगेको रेल विभागले जनाएको छ । कमला नदीमा तटबन्ध फुट्दा आएको बाढीले त्यस स्थानमा असर पुगेको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर अमन चित्रकारले बताए । सो स्थानमा ‘ट्रयाक’ निर्माण भइरहेकामा संरचनामा बाढीले क्षति पुर्याएको हो । उनले भने, “केही समयपछि त्यस स्थानमा फेरि काम शुरु हुनेछ ।”

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन पाँच रेलमार्गमध्ये जयनगर–बर्दिवास पनि रहेको छ । नेपाल र भारतको सीमा क्षेत्रमा रेलमार्ग निर्माण गर्ने सन् २०१० मा भारत सरकारसँग सम्झौता भएको थियो ।

‘नेपाल–भारत अन्दरदेशीय रेलमार्ग’ अन्तर्गत यस रेलमार्गमा नै सबैभन्दा बढी भौतिक प्रगति भएको पाइन्छ । सो रेलमार्ग सञ्चालन गर्न सरकारले दुई वटा रेल सेट खरीदको समेत प्रक्रिया शुरु गरिसकेको छ । भारतको सरकारी कम्पनीमार्फत नेपाल सरकारले खरीद प्रक्रिया अघि बढाउन लागेको हो । रेलमार्ग आगामी दशैँसम्ममा सञ्चालन गर्ने सरकारको योजना छ ।

प्रतिक्रिया दिनुहोस्