२ साउन, काठमाडौँ । असार अन्तिम हप्तामा वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर हालसम्म ९० जनाले ज्यान गुमाएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । अझै बेपत्ता हुनेमा २९ र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिएका छन् ।
उनको अनुसार झण्डै १२ हजार घर धुरी विस्थापित भएकाले उनीहरुलाई अस्थायी आश्रयस्थलमा राखिएको छ । विपदमा परेर सबैभन्दा बढी रौतहटमा १० जनाले ज्यान गुमाएका छन् । ललितपुर र सिराहामा६ |६ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा ५ | ५ जनाले ज्यान गुमाएका छन् ।
ओखलढुङ्गा, महोत्तरी र डोल्पामा ४ | ४ तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौँमा समान ३ | ३ जनाको मृत्यु भएको छ । त्यस्तै , सुनसरी, बारा, धादिङ र दाङमा २ |२ , इलाम, पाँचथर, सङ्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा१ |१ जनाको मृत्यु भएको जनाइएको छ ।
बेपत्ता हुनेमा सबैभन्दा बढी डोल्पामा सात, इलाम, मोरङ र सिन्धुलीमा ३ |३ जना रहेका छन् । अहिलेसम्म सर्लाहीमा २४०० , रौतहटमा १११० , बारामा १६६५ , पर्सामा १२०, सिराहामा ५००, मोरङमा १५३९ लगायत विभिन्न जिल्लामा गरेर झण्डै १० हजार घर विस्थापित भएको केन्द्रले जनाएको छ ।
अहिले राहत वितरण र संरचना पुनःनिर्माणको कार्य तीव्ररुपमा अघि बढिरहेको र अवरुद्ध राजमार्ग खुलाउने प्रयाससमेत भईरहेको रहेको जनाएको छ । मन्त्रालयले वर्षा घटेकाले जनजीवन सामान्य हुँदै गएको जानकारी दिएको छ ।