Logo

नयाँ साथी



Spread the love

मनोज मुस्किल

फ्नो सपनाको उडानलाई काठमाडौं गन्तव्य बनाएर म पहिलो पटक काठमाडौं उत्रिए ।

गाडीमा लेखिएको “जिन्दगी रहे फेरि भेटौंला” भन्ने नमिठो कथनले बाले मिल लगेर कुटाई दिएको एक बोरा चामल, अर्काको बगानबाट किनेर ल्याएको एक कार्टुन
आँप अनि आमाले पोको पारिदिएको एक पोको गुन्द्रुकलाई गिज्याउँदै हिँड्यो ।

लाग्यो, सबै यात्राले टाटा पनि नभनी हिँडिदिन्छन् । यात्री भने सधैँ यात्राको अधीनमा रहिरहन्छ । हामी सबै त्यो यात्रामा छौँ । एकदिन समयको गाडीले त्यसरी नै छाडेर जाने छ हामीलाई, टाटा पनि नभनी ।

बिहानको पाँच बजेको छ । म उसको निन्द्रालाई तीनपटकको तालमा रिङ्ग हानेर घच्घच्याउँछु अनि भन्छु,”म सातदोबाटो आईपुगें । मसँग निम्नलिखितका सामानहरू छन् ।” (माथी नै आइसकेका छन्)

“काँक्रो र तरुनी भनेको बैँश छँदै मात्र मिठो के !”

ऊसँग आफ्नो एउटा निजी खरायो (स्कुटी) छ । म रातभरको अँनिदो, गाडीले थर्काएको थङ्थिलो ज्यान अनि गाडीको नमिठो गन्धलाई भुलाउने मीठो यात्राको कल्पना गर्छु ।

ऊ नमिठो गरी भन्छ,”ट्याक्सीमा आऊ, दुईसय पचास मात्र लिन्छ ।”

लाग्यो, सहर तितो यथार्थहरूको लागि हो । मिठा लाग्ने त कल्पनाहरू मात्र हुन् । तर यो कल्पना हाम्री गाउँकी कल्पनेको बोली भन्दा पनि नमिठो थियो ।

म आधा घन्टापश्चात् ट्याक्सी खोजेर घर पुग्छु ।

ऊ एउटा हाफ पेन्ट र रातो टि-शर्टमा सदाबहार मुस्कान फ्याँक्छ र भन्छ,”पैसा देऊ र सामान माथी लग ।”

म दुईसय पचास झिकेर दिन्छु । ड्राईभर मेरो पाँचसयमा डिल भको हो भनेर अड्डि लिन्छ । ‘हैन’ भनेर रून-रून खोज्छु तर रोइहाल्न भने सक्दिनँ । भाडा डिल नगरी आएकोमा एकदमै पछुतो लाग्छ । अन्तत: कच्याक कुचुक भएर दुखी हुँदै ड्राइभरको हातमा जान्छ मेरो पाँचसय ।

“साला म भन्दा पनि अनुहार नपरेको पाँच सय रहेछ”, म मुर्मुरिन्छु । सोच्छु,”मेरो आमाले एकदिन श्रम गरेको समयको मूल्य काठमाडौंमा आधा घन्टा मात्र रहेछ ।”

हेर्दा हेर्दै मेरो अवचेतनले आफू ठगिएको थाहा पाउँछ । मेरो अनुहार उसको रातो टिसर्ट भन्दा पनि रातो हुन्छ । ऊ मतिर हेरेर उसैगरी मुसुमुसु हाँसिरहन्छ । म फेरि एकताल नमिठो भैदिन्छु ।

तपाईंले कहिल्यै सोच्नुभएको छ ? मानिस एक अर्काबाट पृथक कसरी हुन्छ ? हामी भन्छौं नि यो मान्छे त क्या युनिक रहेछ । यो सबै परिस्थितिलाई डिल गर्ने उसको आफ्नो नजरमा भर पर्ने रहेछ । त्यो नजर उसले भोगेर या जिएर आएको जिन्दगीले निर्धारण गर्ने रहेछ ।

तपाईंले कहिल्यै सोच्नुभएको छ ? मानिस एक अर्काबाट पृथक कसरी हुन्छ ? हामी भन्छौं नि यो मान्छे त क्या युनिक रहेछ । यो सबै परिस्थितिलाई डिल गर्ने उसको आफ्नो नजरमा भर पर्ने रहेछ । त्यो नजर उसले भोगेर या जिएर आएको जिन्दगीले निर्धारण गर्ने रहेछ । ऊ त्यस्तै छ । कहिलेकाहीं लाग्छ, ऊ अरू कुनै ग्रह उपग्रहबाट डाउनलोड भएको एकमात्र प्राणी हो । उसको हरेक क्रियाकलापमा म त्यो फरकपन पाउँछु ।

घरबाट दुईसय मिटरको दूरीमा तरकारी पाउने पसल छ । दुई घन्टा हिँडाएर ऊ कहिलेकाही मलाई ललितपुरको कुनै गाउँमा लिएर जान्छ । लहरामा झुन्डिएको काँक्रोलाई देखाएर भन्छः
“काँक्रो र तरुनी भनेको बैँश छँदै मात्र मिठो के !”

म जोडजोडले हाँसिदिन्छु । उसलाई हेर्छु अनि झल्यास्स हिजोमात्र भनेको कुरा सम्झन्छु,”जे कुरा पनि यहाँ सानो आवाजमा गर्न थालियो भने भीड सम्झेर मान्छेले तिमीलाई कुल्चनेछन् ।”

ऊ मलाई घरसम्म आउने बाटो हरेक पटकको यात्रामा फरक-फरक ठाउँबाट चिनाउँछ । भन्छ,”एउटै बाटोमा त जो पनि हिँड्छ । तिमीले आफ्नो गन्तब्यमा टेक अफ गर्न कहिलेकाहीँ फरक बाटो पनि हिँड्न सक्नुपर्छ ।”

कहिलेकाहीँ पाहुना आएको बेला ऊ मलाई गिलासमा दाल भाग लगाउँदै भन्छ,”आजको युवाले म्यानेज गर्न जानेन भने त्यो के युवा ! तिमी समय भन्दा अघिको सोच राख । नत्र तिमीलाई समयले पछि पार्नेछ ।”

मलाई कहिलेकाहीँ ऊ कुनै ठूलो दार्शनिक जस्तो लाग्छ । म बुझे जस्तो गरिदिन्छु ।

यतिबेला झरीको समय छ । मलाई झरी पटक्कै मन पर्दैन । झरीको याम बाहिर निस्कन सम्म पनि झर्को लागेर आउँछ । कविहरू झरीको बिम्बमा बडो कविता कोर्छन् l यतिबेला मेरो सामाजिक सञ्जाल कवितामय भएको छ । प्रेमीहरू झरीमा भिज्न मन पराउँछन् । केटाकेटीहरू पनि झरीमा खेल्न पाउँदा खुब रमाउँछन् । मलाई बिना शर्त धर्तीको सारा पाप धोइदिने प्रकृतिको यो उदारपना कहिल्यै मन पर्दैन । त्यसैले मलाई झरी मनपर्दैन । उदारपना देखाउनु आफैमा सङ्कुचित हुनु हो । मलाई सङ्कुचित हुन मन पर्दैन ।

प्रेमीहरू झरीमा भिज्न मन पराउँछन् । केटाकेटीहरू पनि झरीमा खेल्न पाउँदा खुब रमाउँछन् । मलाई बिना शर्त धर्तीको सारा पाप धोइदिने प्रकृतिको यो उदारपना कहिल्यै मन पर्दैन । त्यसैले मलाई झरी मनपर्दैन ।

अँ ! अर्को कुरा । मलाई झरीमा मूभी हेर्न चाहिँ खुब मन पर्छ । हिजो अस्तिको कुरा हो म “माइन्ड योर ल्याङ्वेज”को एपिसोडमा मस्त हुन्छु । बाटो बनाउने, छेउको खोल्सो सफा गर्ने मान्छे आउँछन् होला आज यसो बिचार गरी राख है ! यति भनेर ऊ अफिस जान्छ ।

मलाई रातको अँनिदोको ह्याङओभरले धेरथोर कुरा बिर्साइदिन्छ । म झ्याप्प निदाइदिन्छु ।

साँझको बेला ऊ अफिसबाट फर्कन्छ । सधैँझैं एकघन्टा बारीमा पस्छ र हरेक सजीव बिरुवाहरूसँग कुरा गर्छ । म उसको माटो प्रतिको अगाध आस्था र प्रेम देखेर छक्क पर्छु । तर ऊ मभन्दा पनि चार गुणा छक्क पर्छ । कारण, बारीको दुईओटा गट्टा र अलि-अलि बाँकी रहेको सिमी मेरो दिउँसोको निन्द्राले सखाप पारिदिएको हुन्छ । ऊ एकताल फेरि मतिर हेरेर मुसुमुसु हाँस्छ । मलाई यो पटकको उसको हाँसो फर्सीको लहरा भन्दा पनि लामो र घुमाउरो लाग्छ । भित्र भित्रै म भने फर्सीको पात जस्तो खस्रो भैइसकेको हुन्छु ।

एकदिन हामी चापागाउँको बाटो हुँदै हिडिरहेका हुन्छौं । मेरो छेवैबाट एउटा कुकुर मलाई आँखा तर्दै हिँड्छ ।

म र त्यो प्राणीको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । कुनै-कुनै कुरा हामीलाई यसै मन पर्दैन । जस्तो कि बैगुण मलाई यसै मनपर्दैन । नाम नै खाई-खाई हालुँ जस्तो लाग्ने छैन । कक्षाको बिद्या नायक यसै मन पर्दैन । हेर्दै खलनायक लाग्छ । यसै खै किन हो कुकुर र मेरो छत्तिसको आँकडा छ, पहिलेदेखि नै ।

देख्यो कि, घरी ऊ मेरो पछि भाग्छ । घरी म उसको पछि भाग्छु । एक पटकको कुरा हो । हातसम्म समाउन हिम्मत नगरेको परको प्रेमिकाको तिघ्रा भ्याईदिएछ । त्यो दिनदेखि नै अझ धेरै मन नपरेको हुन सक्छ यो प्राणी ।

अँ ! म कहाँ थिए ? कुकुर मलाई आँखा तर्दै हिँड्छ । म नि आँखा तरिदिन्छु । अझ रिस उठ्छ ढुङ्गा उज्याउँछु । कुकुर झम्टन खोज्छ । त्यहाँबाट जसो तसो उम्केर हामी पर पुग्छौं ।

पुच्छर हल्लाउनेलाई ढुङ्गा न उज्याउनू, कम्मर हल्लाउनेहरूसँग आँखा नजुधाउनू ।

अनि मात्र यो खाल्डोमा सुरक्षित रहन सकिन्छ ।

ऊ मलाई सम्झाउँदै भन्छ,”पुच्छर हल्लाउनेलाई ढुङ्गा न उज्याउनू, कम्मर हल्लाउनेहरूसँग आँखा नजुधाउनू । अनि मात्र यो खाल्डोमा सुरक्षित रहन सकिन्छ ।” ऊ मलाई हरेक कुरामा सचेत गर्छ ।

आँखा तल कान ठाडो पार्नु भन्छ । खाने शैली र बोलीको सभ्याताको बारे मलाई दिनहुँ अभ्यास गराउँछ । म्यानेज्मेन्टको कुरा सिकाउँछ । रोटी पकाउनेदेखि लिएर मान्छे फकाउनेसम्मको कुराहरू सिकाउँछ । म अलि अन-एक्सप्रेसिभ छु । ऊ मलाई बाहिरको मान्छेहरूसँग बढी भन्दा बढी एक्सपोज गराउँछ ।

सुरू सुरूमा असजिलो लाग्थ्यो ऊ । अलि पछि अप्ठ्यारो लाग्न थाल्यो । बुझ्दै गएपछि अजिब लाग्न थालेको छ । यो फरकपन बुझ्न मलाई केही समय अवश्य लाग्यो ।
अहिले सम्झन्छु काठमाडौं टेक्ने बित्तिकै ऊ मलाई यहाँको मानिसहरूसँग परिचित गराउन खोजिरहेछ । आँखा झिपिक्क हुँदा तिम्रो आफ्नो छायाँले नि तिमीलाई धोका दिन सक्छ भन्ने बुझाउन खोजिरहेछ ।

ऊ मेरो काठमाडौंको पहिलो साथी हो । म भन्दा दुई दशक बूढो । मेरो बूढो साथी । जसको हरेक मुस्कुराहटमा एउटा लेक्चर देखिरहन्छु । जो हर तरह मलाई यो खाल्डोमा मान्छे बन्न सिकाइरहेछ । ऊ अर्थात् मेरो नयाँ साथी जो हरेक पल्ट यो मृतहरूको शहरमा मलाई जीवन पढाउने दुश्प्रयास गरिरहेछ । म भने कमजोर बिद्यार्थीझैँ उसको हरेक परिक्षामा असफल भैरहन्छु ।

०००

०००

प्रतिक्रिया दिनुहोस्