२ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गर्नुभएको हो ।
आज पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको बताउनुभयो ।
उहाँले मक्कामदिनामा गएर हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्नेसमेत बताउनुभयो । उहाँले हज गर्न जानेले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार गर्ने धारणा राख्नुभयो ।
हजयात्रीलाई बिदाइ गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईसमेत सहभागी हुनुहुन्थ्यो ।नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले सरकारको व्यवस्थापनमा विगत आठ वर्षदेखि हज गर्नका लागि मक्कामदिना पठाउने गरेको बताउनुभयो ।
उहाँका अनुसार यस वर्ष करीब एक हजार २६० जना हज गर्नका लागि मक्कामदिना जानेछन् । मुस्लिम समुदायको पवित्र तिर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् । रासस