२ श्रावण,काठमाडाैँ – केही वर्ष पहिले लोडसेडिङको चपेटामा परेको नेपाल अहिले छिमेकी मुलुक भारतलाई विद्युत दिन सक्ने भएको छ । देशमा अहिले बाढी आएको हुनाले नेपालमा बढी भएको विद्युत भारत पठाउँदै नेपालले “इनर्जि बैंकिङ“को समेत अभ्यास सुरू गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालले हिजो अर्थात् असार ३० गते मात्रै २०० मेगावाट विद्युत भारत पठाएको बताए । त्यसै गरी नेपालले असार २७, २८ र २९ गते दैनिक १५० मेगावाटका दरले नेपालबाट विद्युत भारत गएको जानकारी दिए । मन्त्री पुनका अनुसार नेपाल र भारतबिच भएको इनर्जि बैंकिङको अवधारणा अनुसार नेपालबाट भारत विद्युत पठाइएको हो ।
अबिरल वर्षा र वर्षाले निम्त्याएको बाढी पहिरोका कारण विशेषतः प्रदेश नम्बर १ र २ मा तथा समग्र देशभर नै विद्युतको मागमा कमी आयो । देशका अधिकांश भूभाग डुबानमा पर्दा उद्योग सञ्चालन हुन नसकेपछि विद्युत कम खपत भएको र भारत पठाउन सकिएको हो । नेपालमा प्रयोग गर्न नसक्दा खेर जाने विद्युत विभिन्न प्रसारण लाइनमार्फत भारतसम्म पुर्याइएको हो ।
कुन-कुन प्रसारण लाइनमार्फत भारत जान्छ विद्युत ?
मन्त्री पुनका अनुसार रक्सोल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइन र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् भारत पठाइएको छ । यस्तै अन्य सात विन्दुबाट पनि नेपालमा बढी भएको विद्युत् भारत गएका छन् । अहिले भारत विद्युत पठाइएका प्रसारण लाइनमार्फत विद्युत् आयात तथा निर्यात दुवै गर्न सकिन्छ।
कति छ नेपालको विद्युत उत्पादन, कति छ विद्युतको माग ?
अहिले नेपालमा दैनिक १ हजार ३ सय २५ मेगावाट भन्दा धेरै विद्युत उत्पादन भइरहेको छ । नेपालमा दैनिक विद्युतको माग १ हजार १ सय १५ मेगावाटदेखि १ हजार १ सय २५ मेगावाटसम्म हुन्छ । तर, भर्खरै आएको बाढीको समयमा मात्र ६ सय मेगावाट विद्युतको माग हुँदा बाँकी रहेको विद्युत भारत पठाइएको हो ।
कम माग हुँदा किन पठाइन्छ विद्युत भारत ?
कुनै पनि देशमा उत्पादन भएको विद्युत पूर्ण रूपमा खपत हुन नसक्दा नजिकका मुलुकमा पठाउने गरिन्छ । यसलाई इनर्जि बैंकिङको अवधारणा पनि भनिन्छ । यहि अवधारणामा आधारित भएर कहिले नेपालले तथा कहिले भारतले विद्युत नेपाल पठाउने गर्दछ । मन्त्री पुनका अनुसार उत्पादित विद्युत् खेर नजाओस् र दुई देशबीच आगामी दिनमा समेत विद्युत् व्यापार गर्ने मार्ग प्रशस्त होओस् भन्ने लक्ष्यका साथ यस्तो अभ्यास गरिएको हो ।
किन गरियो भारतसँग इनर्जि बैंकिङ गर्ने सहमति ?
नेपाल र भारतबीच इनर्जी बैंकिङ गर्ने सहमति यसअघि नै भइसकेको छ। यस्तै इनर्जी बैंकिङ, दैनिक व्यापार तथा विद्युत् आदानप्रदानका लागि समेत थप सहज भएको छ। आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रसारण प्रणालीमा एक हजार ३०० मेगावाट बढी विद्युत् थप हुने भएकाले पनि भारतसँग इनर्जी बैंकिङ गर्नैपर्ने बाध्यता पनि रहेको छ। आन्तरिकरुपमा विद्युत् खपत गर्ने वातावरण नबन्दासम्म उत्पादित विद्युत् भारत पठाउनुपर्नेछ।
अब कहाँ-कहाँबाट थपिँदैछ नेपालमा विद्युत ?
आगामी आवमा माथिल्लो तामाकोशी ४५६ मेगावाट, रसुवागढी १११ मेगावाटलगायत सरकारी तथा निजी क्षेत्रका आयोजना निर्माण सम्पन्न हुने छन् । दुई देशबीच सन् २०१४ मा नै विद्य्त् खरिद विक्रीसम्बन्धी ‘पावर ट्रेड एग्रिमेन्ट’ भइसकेको छ।