३१ असार, काठमाडौं । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा सुपर ओभरमा न्युजिल्यान्डलाई हराउँदै इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि हात पारेको छ ।
सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेको कारण उपाधि जितेको हो । त्यसअघि जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अन्तिम बलमा २ रन आवश्यक परेको अवस्थामा दोस्रो रन लिँदा रनआउट भएपछि खेल सुपर ओभरमा गएको थियो ।
अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको अवस्थामा चौथो बलमा २ रन लिँदा ओभर थ्रो मा ४ रन जोड्दै इंग्ल्यान्डलाई ६ रन नभएर ५ रन हुनुपर्ने बताइएको छ । जसको कारण अम्पायर कुमार धर्मसेनाले लेग एम्पार मरैस इरास्मससँग सल्लाह गर्दै इंग्ल्यान्डलाई ६ रन दिएका थिए । अहिले उक्त निर्णयले भने विवादको रुप लिएको छ ।
आईसीसीको नियम १९.८ का अनुसार यदी फिल्डरले थ्रो फाल्दा बल बाउण्ड्रीमा जान्छ भने पनि त्यो रन जोडिन्छ। साथै दुवै ब्याट्सम्यानले लिएको रन पनि खातामा जोडिन जान्छ ।तर इंग्ल्यान्डले रन लिने क्रममा आदिल राशिदले रन पूरा नगर्दै मार्टिन गुप्टिलले बल फालिसकेको भिडियो रिप्लेमा देख्न सकिन्छ ।
जसका कारण अम्पायर कुमार धर्मसेनाले ६ नभएर ५ रन दिनुपर्ने क्रिकेट विश्लेषकहरुले तर्क राखेका छन् ।