Logo

बाढीपहिरोले भत्काएको घर सरकारले निर्माण गर्छ : मन्त्री यादव



Spread the love

३१ असार, जनकपुरधाम l उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी तथा पहिरोले भत्काएको घर सरकारले निर्माण गर्ने बताएका छन् ।

आज जनकपुरस्थित नेकपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले बाढी तथा पहिरोले पुर्‍याएको पीडाप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

उनले भने, ‘विपद्ले घर भत्काएकोमा सरकारले बनाउने एक पटक निर्णय गरिसकेको छ । त्यसैले फेरी निर्णय गर्नु परेन ।’ उनले अहिले तत्कालै प्रत्येक दल र सरकार एक जुट भई पीडितहरू समक्ष राहत पुर्‍याउन जरुरी देखिएको बताए ।

सिरहामा पहुँचवालाले मात्र राहत पाएको गुनासो सुनिएकोले त्यस्तो हुन नदिन सबै पक्षसँग मन्त्री यादवले आग्रह समेत गरेका छन् । उनले सरकारले बाँडेको राहतले मात्र नपुग्ने भन्दै सङ्घसंस्थाहरूलाई पनि राहत बाँड्न अपिल गरे ।

बाढी आए लगत्तै आफ्नो निर्वाचन क्षेत्र धनुषा आइपुगेका उनी विभिन्न बाँध, बाढी र पीडितहरूको घर घरमा पुगेर निरीक्षण गरेका छन् । मन्त्री यादवले भने, ‘धनुषाभन्दा सिरहाको अवस्था भयावह छ । कमला बाँध भत्किने अझै खतरा रहेको देखेँ ।’

कमला बाँध (तटबन्ध) बलियो गर्नुपर्ने आवश्यक देखिएको उनको भनाइ छ । सञ्चारकर्मीको जिज्ञासामा मन्त्री यादवले चुरे दोहन विषयमा अहिले मौन रहने बताए ।

क्रसर डनको विषयमा पनि मन्त्री यादवले मुख खोलेनन् । सञ्चारकर्मीले सरकार, माफिया र डनलाई संरक्षण गरेको हो भन्ने जिज्ञासामा उनले भने, ‘डन र माफियालाई न सरकारले संरक्षण दिएको छ, न डराएको छ ।’

प्रतिक्रिया दिनुहोस्