Logo

सामान्य वर्षा हुँदा नै डुब्छ काठमाडाैँ, घुमाउँन खोज्दा सिधा हिड्छ खोलो



Spread the love

३१ असार, काठमाडाैँ – गत बिहीबारदेखि लगातार ३ दिन देशभर अविरल वर्षा भयो । वर्षा ३ दिनसम्म भएता पनि यसको परिणाम बाढी तथा डुबान भने केही घण्टामै लगभग देशभर देखियो । साना कुलोहरूले समेत ठूलै रूप लिँदा ठुला नदी भने हडपिएको आफ्नो क्षेत्रमा समेत खेल्दै ओरालो लागे ।

केही वर्ष पहिले नेपालमा ठूलो वर्षा हुँदा डुबानमा पर्ने त्रास तराईका क्षेत्रहरूमा हुने गर्दथ्यो । अब यो त्रास राजधानी काठमाडौँका बासिन्दाहरूमा पनि देखिएको छ । गत वर्ष हनुमन्ते खोला थुनिएर भक्तपुर डुबानमा परेको एक वर्षपछी पुनः त्यही घटना दोहोरियो ।यस वर्ष भक्तपुर आंशिक डुबानमा पर्दा काठमाडौँका नदी किनारमा बनाइएका भौतिक संरचना डुबानको शिकार भए । कलंकीभन्दा तल मालपोत क्षेत्रका घरहरूमा खोला बास बस्न पुग्यो । बिगतका केही वर्षदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरू डुबानमा पर्दा ठूलो जनधनको क्षति समेत हुने गरेको छ । केही वर्ष पहिले पानी पर्दा आरामले निदाउन सक्ने अवस्था हुने काठमाडौँमा  जाग्राम बस्नु पर्ने अवस्था पछिल्लो समयमा देखिएको छ ।

पोहोर साल हनुमन्तेले भक्तपूर डुबाएको पूरा १ वर्ष हुँदा यता बाग्मति र विष्णुमतीले यसपालि नख्खु र बल्खुलाई निशाना बनाए । बाग्मती सभ्यता एकीकृत विकास समितिका उप–आयोजना प्रमुख योगेन्द्र चित्रकारले बताए अनुसार यस्ता ठूला तथा बस्ति नै डुबान गर्ने खालका बाढी केही दशकको अन्तरालमा मात्र आउने गर्दछन् । यसरी दशक बिराएर आउने बाढीलाई कसैले छेक्न सक्दैन ।

किन हुँदैछ काठमाडौँ बाढीको शिकार ?

यसपालीको वर्षाले काठमाडौँ जलमग्न बनायो । थानकोट, कलंकी , नख्खु र बल्खु यो बाढीको शिकार भए । हनुमन्ते, मनोहरा, बाग्मती र विष्णुमती यसपाली  मानिसहरूको कोठाकोठामा बास बस्न पुगे । तर, यस्तो भएको पहिलो पटक भने होइन । गत साल पनि असार अन्तमै हनुमन्तेले भक्तपुरको अधिकांश क्षेत्र जलमग्न पार्दै धेरैको उठीबास लगाएको थियो । यो पटक हनुमन्ते शान्त रहँदा अरूले पालो पाए ।

सिँचाइ मन्त्रालय अन्तर्गतको जल उत्पन्न प्रकोप विभागले सन् २००९ मा गरेको अध्ययनअनुसार उपत्यकमा शुक्रबार भए जतिको वर्षा औसतमा प्रत्येक वर्ष हुने गर्छ । यसरी प्रत्येक वर्ष औसतमा वर्षा हुँदा पनि बाढी तथा डुबानको पिरलो भने वर्षेनी बढ्दै गएको छ । यसमा पूर्ण जिम्मेवार अनावश्यक प्लटिङ र फोहोरको अनुचित व्यवस्थापन रहेको छ ।

पैसा कमाउनु नै प्रमुख उद्देश्य राखेर गरिने जथाभावि प्लटिङ वर्षे काठमाडौँ डुबानको जिम्मेवार छ । प्लटिङका लागि थोरै ठाउँ नमिल्दा विविध कागज मिलाएर प्लटिङ गर्ने र खोलो फर्काइन्छ ।  बर्खामा नदी आफ्नै प्राकृतिक बाटो खोज्दै बस्ति पस्छ । अनि बस्ति जलमग्न भएका घटना मिडियामा छाउँछन् ।

कहिले-कहिले डुब्यो काठमाडौँ ?

२००० सालपछि काठमाडौँमा आएको ठूलो बाढी यो वर्ष र अघिल्लो वर्षको हो । तर, वर्षै्पिछ्छे काठमाडौँका पुतलीसडक, बागबजार र न्युरोडमा सामान्य वर्षाले पनि ठुलै भेल सोहोरेर ल्याउँछ । डुबान सकिएको केही क्षणमै तत् क्षेत्रमा ढलको दुर्गन्ध फैलिन्छ । सामान्य रूपमा नै ढल निकास हुन नसक्ने ठाउँमा वर्षात्को पानी पनि थपिँदा डुबानमा पर्नु स्वभाविक नै हो । काठमाडौँ १९८१, १९९३,२००२ र २००६ मा पनि डुबानमा परेको थियो ।

फोहोरले बाटो छेक्दा बस्ती पस्यो खोला !

करीब ४० लाखको हाराहारीमा जनसंख्या रहेको काठमाडौँमा दैनिक ५ सय मेट्रिक टन फोहोर उत्पादन हुने गर्छ भन्न्ने आँकडा छ । दैनिक यती ठूलो परिमाणमा निस्किने फोहोर व्यवस्थापन समस्याको विषय बन्दा मानिसहरूले खोलालाई गतिलो विकल्प बनाएका छन् । निरन्तर १ वर्षसम्म खोलामा थुपारिएको फोहोरले बाटो बन्द गर्दा खोला बन्दकर्ताको घरमा जाने नै थयो ।

मोडियो बाटो, सिधा हिड्यो खोलो

वर्षात्को समय सकिएपछि मानिसहरूको जग्गा किनमेल गर्ने सिजन सुरू हुन्छ । गाउँमा भएको धेरै फाँट  बेच्दा काठमाडौँ आसपासमा सानो टुक्रा आइहाल्छ । उचो ठाउँमा भन्दा होचो तथा खोलाको किनारमा अझै सस्तो । थोरै भएता पनि जग्गा बड्ने लोभले खोला फर्काएर बनाएका साना टुक्रा किन्नेको भिडले प्लटिङ गर्नेलाई खोला फर्काउँदै जग्गा बनाउने नयाँ जुक्ति दिन्छ । हिउँदमा सजिलै बाटो मोडाइएका खोला बर्खामा पुरानै बाटो पछ्याउँछन्।

के हुन सक्ला बच्ने उपाय ?

काठमाडौैमा हुने डुबानको खतराबाट बच्ने उपाय भनेको नै खोलालाई स्वभाविक रूपमा बग्न दिनु हुन्छ । यसका लागि फेरी खोला पुरानै बाटोमा फर्काउनु पर्यो । अर्थात् खोलाको बगरमा बनेका संरचना हटाउनु पर्यो । तर, गाउँमा भएको सबै बेचेर जोडेको टुक्रा त्यतिकै छाड्ने कुरा भएन । अहिलेकै अवस्था नियाल्दा वर्षेनी बाढी आइरहन्छ, काठमाडौँ डुबिरहन्छ ।

प्रतिक्रिया दिनुहोस्