सत्तरी साल भदौ महिनाको कुनै अन्तिम मध्यरात । भर्खर प्लस टू पढ्दै गरेको एउटा मट्याङ्ग्रे फुच्चेलाई अबैध रुपमा पुल्चोक क्याम्पसको होस्टेल भित्र छिराइयो । ढिला नगरी सरासर ब्लक ए को रुम नं १११ तिर लगियो । ढोका बन्द थियो । खोलियो । फुच्चे शान्त थियो । अत्तालियो । ढोका भित्रको नजरिया हेर्दै एक जोडी नजरहरू एकसाथ उकुसमुकुस भए ।
आखिर के हुँदै थियो त्यहाँ । एउटा गितार बोकेको मान्छे । एउटा गीत गाइरहेको मान्छे । एउटा डायरी बोकेको मान्छे । एउटा वाह मा वाह ताली बजाइ रहेको मान्छे । सबै मान्छेहरू हुलियामा साधारण देखिन्थे । तर माहोल बिल्कुल असाधारण । कम्तिमा भर्खरै एउटा खाटको छेउ तिर बसी भ्याएको मट्याङ्ग्रे फुच्चेलाई ती मान्छेहरू कसोकसो मायावी लाग्दै गए । माहोलले एक अनौठो नयाँपन दिइरह्यो । बच्चु कैलाशको गीतले रुम नं १११ एकोहोरो गुन्जिरह्यो ।
“तिम्ले त होइन तिम्रा भाकाहरूले, मेरो मुटु छोइ सकेछन्
मैले पनि होइन मेरा आँखाहरूले तिम्रो लागि रोइ सकेछन् !!”
गुनगुनाइ रहेको मान्छे खुबै मस्त देखिन्थ्यो, आफ्नै आवाजमा । बिल्कुल मदहोस । त्यसमाथी गितारको सुमधुरताले गीत झनझन् खुल्दै गएको आभास भैरह्यो ।
गायकीको प्रभावमा फुच्चेको मुहार क्रमशः तेजिलो बन्दै थियो । बिल्कुल ल्याम्पोष्टको सेतो चिम जस्तै ।
गीत पछिको फर्माइस गजलको भयो । गजलको जिम्मा उहीँ छेउको डायरीवालको रैछ । हातको सानो चिटिक्कको डायरी अलिअलि हेरे जस्तो गरेपछी ऊ एकाएक चम्कियो । छुस्स दारीमा एक पफ फुस्स मुस्कान चारैतिर छरपस्ट भयो । एकछिनको खाकखुक अहम् उहुम् पछि ऊ लगत्तै सुरु भयो । डायरीवाल, देख्दैमा पनि अलिक फरक नै देखिन्थ्यो । कम्तिमा नवआगन्तुक फुच्चेको नजरमा ।
नर्मल साइज भन्दा केही ठुला लोभलाग्दा आँखा, छुस्स झुसे दारी, ठिकठाकको ज्यान । स्वर भने डायरीवालको बेहद सुन्दरको सुनियो । घरीघरी त लाग्न सक्थ्यो, उसैको स्वरले त हो त्यो रात त्यति साह्रो मादक बनेको पनि । होइन भने सबै रातहरू कहाँ उतिसारो मादक रहन्छन् र ! होलसेलमा दारीवाल सरी डायरीवाल क्रमशः रहरलाग्दो बन्दै गयो ।
मान्छे त ऊ लोभलाग्दो थियो नै । झन त्यसमाथि उसका गजल अनि उसको अनौठो वाचन-शैली । कम्तिमा फुच्चेको मन मै सहि, केहि मनगढन्ते सवालहरू घरीघरी जसो पैदा भैरहे । आखिर ऊ सुन्दर भएर उसका गजल सुन्दर भएका हुन् ? या उसका गजलको ओजले बल्ल ऊ सुन्दर देखिएको हो ? ऊ वास्तव मै एक अलौकिक मान्छे हो या उसका युनिक आँखाहरूले बस् एक भ्रम पैदा गरिरहेका हुन् ? खैर ! त्यो अँध्यारो रातले ती फुच्चे सवालहरू उहीँ अध्यारोमा विलीन पार्दियो ।
दारीवाल सरी डायरीवाल उता लगातार जसो गुनगुनाइ रह्यो:
“के लाई जानू मंगलबजार, अब तिमी छैनौं भने
के लाई गर्नु शृङ्गारपटार, अब तिमी छैनौं भने !!”
मंगलबजार शब्दले फुच्चेका कान केहि सतर्क भएकै हुन् । किन्तु ऊ नियमित रुमल्लिने ठाउँ थियो, मंगलबजार । डायरीवाल बल्ल केहि आत्मीय सुनिदै गयो, कम्तिमा फुच्चेको नजरमा । गजलका शेरहरू सँगै उसका हावभाव जति सब रातैभरी चलायमान भैरहे ।
“हुरी पछि पानी पर्न पनि सक्छ नपर्न पनि सक्छ
पिए पछि बानी पर्न पनि सक्छ नपर्न पनि सक्छ !!”
कवि गायक गजलकार, गुन्जिरहें रातैभरी । वाह वाहमा तालीहरू, गुन्जिरहें रातैभरी । न सुनाउनेहरू रोकिए, न थाके सुन्नेहरू नै । काला अग्ला भित्ताहरू, गुन्जिरहें रातैभरी ।
…..
…..
रुम नं १११ को त्यो गुन्जन अझै पनि कैलेकसो गुन्जिरहन्छ अरे, पुल्चोक क्याम्पसको छात्रावास परिसरमा । बडेमानको भोल्युममा मध्यरातको करिब १२ बजे तिर ।
पोहोर भदौमा मात्रै होस्टेल वार्डेन समक्ष केही विद्यार्थी द्वारा बडो दयनीय आवाजमा दुखेसो पोखियो अरे,”ब्ल्क ए को रुम नं १११ मा प्रायजसो मध्य-रात भित्तै फोड्ने गरि निकै सुरिलो तर कर्कश आवाज रातैभरी गुन्जिरहन्छ, सर ! केही गीत, केही गजल अनि केही गितारका छरपस्ट धुनहरू । समग्रमा एक मीठो तर डरलाग्दो गुन्जन । जसरी हुन्छ, हाम्लाई यो रुम बाट अन्यत्र कतै सार्दिनु पर्यो, सर । हामी यो हन्टेड रुम भित्र अब धेरै दिन बाँच्न सक्दैनौं, सर । हामी माथि दया गर्दिनुस्, सर ।”
त्यसै दिन साँझ ७:३० बजे होस्टेल वार्डेनद्वारा रुम नं १११ को बाहिर पट्टि एउटा सुचना टाँस्न लगाइयो । सुचनाले भन्थ्यो,”आज मिति २०७३ साल भदौ सात गतेका दिन देखि ब्लक ए को रुम नं १११ लाई ‘हन्टेड जोन’को रुपमा घोषणा गर्दै, अबका दिन देखि यस भित्र प्रवेश गर्न पुर्णतः निषेध गरिएको व्यहोरा सबैमा अबगत गराउदछौं । नियम विपरित कोहि यस रुम भित्र प्रवेश गरेको पाइएमा होस्टेल प्रशासन कुनै पनि हालतमा जिम्मेवार रहने छैन…”
त्यही दिन देखि हो, रुम नं १११ बिल्कुल खाली हुन थालेको । रातमा त भित्ताहरू गुन्जिन्छ्न् । गीत, कविता, गजलहरू गुन्जिन्छन् । तर दिन ! दिनमा भने रुम नं १११ बिल्कुल सन्नाटामा बाँचिरहेछ । हप्तौं देखी महिनौं देखी । सायद बर्षौ देखी ।
होस्टेल परिवार कसैलाई कुनै पत्तो छैन, हरेक मध्यरातमा किन गुन्जिरहेछन् त रुम नं १११ का काला अग्ला भित्ताहरू ? अरे यार ! पत्तो होस् पनि कसरी ! उनीहरूलाई थाहा होस् पनि कसरी, ४० महिना अघिको त्यो रसिलो रात ? त्यहीँ रात, जुन रातलाई रुम नं १११ का भित्ताका कानहरूले पर्मानेन्ट्ली रेकर्ड गरेर राखेका छन् । मिल्दो माहोल र रसिलो अन्धकारमा त्यो रेकर्ड पुनः गुन्जिन थाल्छ । बडेमानको भोल्युममा । भित्तैभरी । रातैभरी ।
मध्यरातको यो नियमित गुन्जन कहिले सम्म गुन्जी रहने हो, यसै भन्न झन्झन् मुस्किल हुदैछ । सायद यो गुन्जन तब मात्रै रोकिनेछ, जब त्यो रसिलो रातका चार मायावी पात्रहरू ( गजलकार – १ थान, गायक – १ थान, गितारवादक – १ थान अनि तालीवादक – १ थान ) लाई पुनः एकचोटि रुम नं १११ को परिमिती भित्र रातैभरी नजरअन्दाज गरिनु पर्छ । खुलेयाम । जबर्जस्त । मस्तमौला । ठ्याक्कै उसैगरी ।
पुनश्च: यो ऐतिहासिक मुलाकातमा पनि त्यो नवआगन्तुक मट्याङ्ग्रे फुच्चेलाई अबैध रुपमा पुल्चोक क्याम्पसको होस्टेल भित्र जबर्जस्ती छिराइनु पर्छ । ठ्याक्कै उसैगरी ।
भर्सक यो सुनौलो माहोल कम प्रेतपुजाको साइत शनिवारको रातमा तय गरियोस् । किन्तु सप्तान्तको यो समय पुल्चोक माथीको खैरो आकाशमा केही दर्जन काला कागहरू मडारी रहेका जो भेटिन्छन् !!!
…..
…..
…..
नोट :-
गजल स्रोत : कपोल कल्पित