Logo

पूर्वपश्चिम राजमार्गको भब्सीमा वैकल्पिक मार्ग सञ्चालनमा



Spread the love

३० असार, महोत्तरी – पूर्वपश्चिम राजमार्गको महोत्तरीमा पर्ने भब्सी नदीमा आइतबार साँझ वैकल्पिक मार्ग (डाइभर्शन) सञ्चालनमा आएको छ । शुक्रबार मध्यरातमा पुल बगेपछि वारि र पारि थन्किएका सयौँ सवारी साधन आइतबार साँझ वैकल्पिक मार्ग (डाइभर्शन) खोलिएसँगै गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

पुल बगेपछि कतिपय सवारी साधन शनिबार बिहानैदेखि बर्दिवास जलेश्वर सडकको औरही हुँदै गौशालाबाट फेरि पूर्वपश्चिम राजमार्ग समातेर चलेका थिए । बाढीले बर्दिवास जलेश्वर सडक कैयौँ ठाउँ खङ्गारिएर खाल्डो बनेकाले ठूला सवारी साधन चलाउन अप्ठ्यारो हुँदै आएको थियो ।

बगेको पुलकै छेउबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी, सडक डिभिजन कार्यालय जनकपुर र स्थानीय स्वयंसेवी युवाको लगातार दुई दिनको प्रयत्नले आइतबार साँझ वैकल्पिक मार्ग बनेपछि सवारी साधनको सहज आवागमन खुलेको हो । वर्षा र बाढीको सम्भावना अझै रहेकाले बगेको पुलकै ठाउँमा बेलिब्रिज जडान गर्ने तयारी थालिएको छ । बेलिब्रिज जडान कार्यमा एक सातासम्म लाग्नसक्ने सडक डिभिजन कार्यालय जनकपुरले जनाएको हो ।

बर्दिवासमा बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री सडक डिभिजन कार्यालय लहानबाट ल्याइँदै गरिएको र जडानका लागि दक्ष कामदार काठमाडाैँबाट झिकाइएका छन् । २०२६ सालमा तत्कालिक शोभियत सङ्घको सहयोगमा निर्मित ५० मिटर लम्बाइको सो पुल बीचको अवधिमा एक पटक मर्मतसम्भार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्